जोखिम घटाउन ‘ख’ वर्गको एम्बुलेन्स

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

दैनीक सवारी दुर्घटना भई व्यक्तिको ज्यान जान थालेपछि जिल्लामा सुविधा सम्पन्न एम्बुलेन्सहरु ब्यवस्थापन हुन थालेका छन् ।

धुलिखेल अस्पतालले यस अघि ब्यवस्थापन गरेका दुई वटा एम्बुलेन्सको अलावा चौरीदेउराली र बेथान्चोक गाउँपालिकालाई ‘ख’ वर्गका एम्बुलेन्स हस्तान्तरण गरिएका छन् ।

नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाले ग्रामिण आपतकालिन तथा ट्रमा प्रणाली सुदृढीकरण परियोजना अन्र्तगत उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो । सरकारका प्रवत्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रेडक्रस काभ्रेका सभापति रघुवर चौ प्रधान सहित बेथान्चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमलाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले एम्बुलेन्सको सुविधा सहित सडकको अवस्था सुधार गरी मनाविय सेवमा सक्रिय हुन रेडक्रसकर्मीहरुलाई अनुरोध गर्नु भयो । ‘सरकारले रेडक्रस सम्वन्धी थप ऐन निर्माण, टोल फ्रि नम्वरको ब्यवस्थापन र विपद सम्वन्धी कार्यका लागि सहकार्य गर्नेछ’–मन्त्री बास्कोटाले भन्नुभयो–‘रेडक्रसकर्मीहरु राजनीतिमा नभई एकता सहितको शान्ति निर्माण अभियानमा सक्रिय बन्नुस ।’

‘ख’ वर्गका एम्बुलेन्समा विरामीको प्राथमिक उपचार चालक आफैले गर्ने ब्यवस्था मिलाईएको छ । चालकलाई प्राथमिक उपचारको तालिम सहित औषधीहरुको ब्यवस्था एम्बुलेन्स भित्रै हुनेछ । धुलिखेल अस्पताल इमरजेन्सी विभागका डा. सम्झना बस्नेतले दुर्घटना स्थलमा सामान्य प्राथमिक उपचार आवश्यक रहेकाले विरामीहरुका लागि त्यसको ब्यवस्थापनका लागि यस्ता एम्बुलेन्स र एम्बुलेन्समा आवश्यक औषधी सहितको जनशक्ति आवश्यक रहेको बताउनु भयो । धुलिखेल अस्पतालमा क वर्गका एम्बुलेन्स भए पनि मेडिकल अफिसरको ब्यवस्था नभएकाले ख वर्गको एम्बुलेन्सका रुपमा कायम गरिएको बताउनु भयो । ‘दुर्घटनामा पहिलो चरणमा विरामीको अवस्था हेरेर प्राथमिक उपचार गर्नु आवश्यक छ’–डा बस्नेतले भन्नु भयो–‘अस्पताल आउनु अघि विरामीको निधन नहोस् भनेर सुविधा सहितको जनशक्ति र एम्बुलेन्स आवश्यक छ ।’

‘पहुँच र गुणस्तरीय सुविधा सहितको एम्बुलेन्स देशभर ब्यवस्था गर्ने गरी तयारी गरिएको छ’–नेपाल रेडक्रस सोसाईटी स्वास्थ्य शाखा उपनिर्देशक बालकृष्ण् सेढाईले बताउनु भयो–‘क्यानेडियन रेडक्रसको सहयोगमा सिन्धुपाल्चोक जिल्लामा तीन र काभ्रे जिल्लामा दुई वटा एम्बुलेन्स उपलब्ध गराईएको छ ।’ चालकलाई प्रशिक्षण सहित तलव र अन्य ब्यवस्था परियोजना अवधीभर रेडक्रस मार्फत उपलब्ध हुनेछ । सेवाग्रहीसँग असुल गरिएको रकम कोषमा जम्मा गरी एम्बुलेन्सको मर्मत सम्भार गरिनेछ ।

कार्यक्रममा प्रदेश सभा सदस्य रत्न ढकाल, नेकपा अध्यक्ष रुकु चौलागाई, नेपाली कांग्रेसका उपसभापति अच्युत पौड्याल, गाउँपालिका अध्यक्ष दिनानाथ गौतम, प्रेमबहादुर तिमल्सिना, केन्द्रिय कोषाध्यक्ष देवेन्द्र प्रधान, जिल्ला सभापति रघुवर चौ प्रधान लगायतले रेडक्रसको संक्रमणकालिन अवस्था र सेवाको बारेमा मन्तब्य राख्नु भएको थियो । लामो समय देखि हुन नसकेको रेडक्रसको जिल्ला अधिबेशन आगामी शनिबार हुँदैछ ।