पर्वतको वारीबेनीमा एक घर एक धारा

0
Shares

नेपाल समाचारपत्र ,पर्वत

जिल्लाको जलजला गाउँपालिकामा पर्वत बेनी खानेपानी आयोजनाले घरघरमा मिटर धारा जडान गर्न शुरु गरेको छ ।‘एक घर एक धारा’ जडान कार्यक्रमअन्तर्गत जलजला गाउँपालिका–२, ३ र ४ का ९७४ घरधुरीमा धारा जडान शुरु भएको हो ।

आयोजनाको सम्पूर्ण परीक्षण सफल भएपछि यसै सातादेखि उपभोक्ताको घरमा धारा जडान शुरु भएको हो । यही माघ मसान्तभित्र धारामा खानेपानी उपलब्ध गराउने गरी घरघरमा मीटरसहितको धारा जडान गर्न शुरु भएको पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिनुभयो । ‘उपभोक्ता समिति रातदिन नभनी धारा जडानमा जुटेको छ,’ उहाँले भन्नुभयो ‘अबको २ साताभित्र हरेक धारामा पानी वितरण गर्छौं ।’

वारीबेनी खानेपानी आयोजना १२ करोड ४४ लाख लागतमा निर्माण भएको हो । आयोजनामा नगर विकास कोषबाट २ करोड ६२ लाख सहयोग प्राप्त भएको छ ।
कालीगण्डकी नदीकिनारमा रहेको जुगेधारा मूलबाट समसिवल वयल पम्प जडान गरेर १५० मीटर उचाइमा रहेको ट्याङकीमा विद्युतीय उपकरणबाट पानी तानेर भण्डारण गरिने छ ।

पर्वत बेनी आयोजना साविकको धवलागिरि अञ्चलकै ठूलो आयोजना रहेको जलजलाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । डेढ वर्ष अघिबाट निर्माण शुरु गरिएको आयोजनाको काम तोकिएकै समयमा सम्पन्न भएको उहाँले बताउनुभयो ।

स्थानीय तह कार्यान्वयन भएपछि गाउँपालिकामा धमाधम बजार विस्तार भइरहेको छ । स्रोत अभावमा गाउँपालिकाका ९ ओटै वडामा खानेपानीको समस्या रहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो ।