पुलिसलाई हराउँदै आर्मी शीर्षमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

जारी शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत् नेपाल पुलिस क्लबविरुद्ध रोमाञ्चक ४–२ को जित निकाल्दै त्रिभुवन आर्मी क्लब शीर्षस्थानमा उक्लिएको छ।
दशौं चरणको खेलमा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठले २ तथा सुमन अर्याल र सुदिल राईले १/१ गोल गरेका हुन्।

पुलिसले खेलमा दुई पटक अग्रता लिए पनि आर्मीले उत्कृष्ट पुनरागमन गर्दै जित हात पार्यो। योसँगै आर्मीले १० खेलबाट २३ अंक जोड्दै शीर्षस्थानमा उक्लिन सफल पनि भयो। टोलीले मछिन्द्रलाई एक अंकले दोस्रो स्थानमा धकेलेको छ। १४ अंक जोडेको पुलिस भने पराजितपछि सातौं स्थानमा अडकिएको छ।

दशरथ रंगशालामा दुई विभागीय टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक भएको थियो। खेलको २०औं मिनेटमा बुद्धबल तामाङको गोलबाट पुलिसले अग्रता लिएको थियो। बुद्धले नीरकुमार राईको फ्रिकिकमा गोल गरेका थिए। तर ३४औं मिनेटमा आर्मीका लागि सुमनले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १–१ बराबरीमा टुंगियो।

दोस्रो हाफमा पनि पुलिसले अग्रता बनाएको थियो। ५८औं मिनेटमा नीरकुमारले गरेको कर्नर प्रहारमा मनबहादुर परिहारले गोल गर्द पुलिस २–१ को अग्रतामा पुगेको थियो। यसपटक पनि पुलिसले अग्रता जोगाउन सकेन।

७७औं मिनेटमा नवयुगले हेडमार्फत् गोल गर्दै खेल २–२ बराबरीमा पुर्याए। उनले नै ८५औं मिनेटमा गोल गरेपछि आर्मीले खेलमा पहिलो पटक अग्रता लिएको थियो। ८९औं मिनेटमा सुदिलले गोल गरेपछि टोलीको जित सुनिश्चित भएको थियो।

यसअघिको खेलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हरायो। टोलीका लागि अजायी मार्टिन्सले पहिलो हाफमा गरेको गोल नै निर्णायक भएको थियो। योसँगै संकटा १५ अंकसहित पाँचौं स्थानमा रहँदा हिमालयन शेर्पा १२औं स्थानमा कायमै रह्यो।