मेलबर्न, (एजेन्सी)।
सर्बियाका नोभाक जोकोभिचल अस्टे«लियन ओपन टेनिसअन्तर्गत् पुरुष सिंगल्सको उपाधि आठौंपटक जितेका छन्।दोस्रो वरियताका जोकोभिचले मेलबर्न पार्कमा आइतबार भएको फाइनल खेलमा अस्ट्रियाका डोमिनिक थीमलाई हराएका हुन्।
करिब चार घण्टा चलेको सो खेल उनले ६–४, ४–६, २–६, ६–३, ६–४ ले जितेका हुन्। २–१ सेटले पछि परे पनि उनले अन्तिम दुई सेट सहजै हात पारे। यो उनको करियरको १७औं ग्रान्डस्लाम उपाधि हो।
यो उपाधिसँगैं स्पेनका राफाल नाडाललाई उछिन्दै जोकोभिच आगामी सोमबार प्रकाशित हुने नयाँ वरियताको सूचीमा शीर्ष स्थानमा उक्लिने भएका छन्। तर उनी सर्वाधिक ग्रान्डस्लाम जित्नेको सूचीमा भने तेस्रो स्थानमै छन्।
सो सूचीमा उनीभन्दा अगाडि रोजर फेडेरर (२०) र राफाल नाडाल (१९) रहेका छन्। टेनिसका यी तीन महारथीले २००३ विम्बल्डनदेखि अस्टे«लियन ओपन २०२० सम्म ६७ ग्रान्डस्लाममध्ये ५६ उपाधि हात पारिसकेका छन्।
उता थीमको पहिलो ग्रान्डस्लाम उपाधि जित्ने धोको अधुरै रह्यो। शीर्ष वरियताका नाडाललाई क्वार्टरफाइनलमा पराजित गरेका थीमले जोकोभिचलाई भने पन्छाउन सकेनन्। उनको यो तेस्रो ग्रान्डस्लाम फाइनल हो। यसअघि उनी फ्रेन्च ओपनका अघिल्ला दुई संस्करण (२०१८ र २०१९) को फाइनलमा पनि हारेका थिए। दुबै पटक उनी नाडालसँग पराजित भएका थिए।
यसैगरी थीम ग्रान्डस्लाम जित्ने दोस्रो अस्ट्रियन खेलाडी बन्न चुकेका छन्। अहिलेसम्म अस्ट्रियाबाट ग्रान्डस्लाम जित्ने थोमास मस्टर एक्लो खेलाडी हुन्। उनले सन् १९९५ मा फ्रेन्च ओपन टेनिसको उपाधि जितेका थिए।
उनको यो करियरको एक मात्र ग्रान्डस्लाम उपाधि पनि थियो। उनी विश्व वरियतामा शीर्ष स्थानमा पनि रहेका थिए। २६ वर्षीय थीम उनीपछि विश्व टेनिसमा चम्केका अस्ट्रियाका खेलाडी हुन्।











प्रतिक्रिया