खालिस्तान समर्थक पृथकतावादी नेताको पाकिस्तानमा हत्या


लाहोर, (एजेन्सी)।

भारतमा वान्टेड रहेका खालिस्तान समर्थक एक वरिष्ठ नेतालाई वाघा बोर्डरनजिकै गुरुद्वारबाहिर दुई अज्ञात आक्रमणकारीले गोली हानी हत्या गरेको प्रहरी सूत्रले जानकारी दिएको छ।खालिस्तान लिबरेसन फोर्स (केएलएफ)मा आबद्ध हरमित सिंह उर्फ ‘ह्याप्पी पीएचडी’लाई सोमबार लाहोरबाहिरको इलाकामा पर्ने डेरा चहल गुरुद्वारेनजिकै हत्या गरिएको सूत्रले बताए।

अमृतसरका सिंहमाथि कथितरूपमा पन्जाबमा सन् २०१६–१७मा आरएसएस नेताहरूको हत्यामा संलग्न रहेको आरोप छ। उनीलगायत खालिस्तानसँग सम्बन्धित ८ जना पृथकतावादी नेताविरुद्ध गत वर्ष इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो। सिंहको हत्याको घटनामा कुनै उजुरी दर्ता नभएको पीटीआईले जनाएको छ।

नाम उल्लेख नभएको उक्त स्रोतले आपूmहरूलाई उक्त घटनाको जाँच नगर्न भनेको जानकारी दिए। त्यसैले हरमित सिंहको हत्या मामिलामा कुनै उजुरी परको छैन। कानुनी एजेन्सीहरूले बुर्कीमा गुरुद्वारनजिकको इलाकालाई घेराबन्दी गरेको र पत्रकारसमेत कसैलाई त्यहाँ जान अनुमति नदिएको बताइएको छ। शवको पोस्टमोर्टनका लागि लाहोरको कुनै अस्पतालमा पनि नलगिएको सूत्रले बताए।

प्रहरीका प्रवक्तले हत्याका बारेमा अनभिज्ञता व्यक्त गर्दै प्रहरीलाई यस प्रकारको कुनै घटनाको जानकारी नभएको बताए। पाकिस्तानका सञ्चारमाध्यमले पनि सिंहको हत्यासँग सम्बन्धित समाचार सामग्री प्रकाशित गरेको छैन।भारतबाट पन्जाब अलग हुने माग अघि सार्दै १९८० को दशकमा भएको आन्दोलन खालिस्तान पृथकतावादी संघर्षका रूपमा चिनिन्छ।

उक्त संघर्षले हिंसात्मक रूप लिएपछि तात्कालीन भारत सरकारले सेना परिचालन गरी दमन गरेको थियो। उक्त दमनपछि आन्दोलनमा आबद्ध नेताहरू पश्चिमीमुलुक क्यानाडा, अमेरिकालगायत पाकिस्तानमा पलायन भएका थिए। उनीहरू अझै पनि पन्जाबलाई खालिस्तानको नाममा स्वाधीन राष्ट्र बनाउने गतिविधिमा सक्रिय रहेको बताइन्छ।