इजरायल र अमेरिकासँगको सबै सम्बन्ध बन्द : अब्बास

0
Shares

कायरो,(एजेन्सी)।

प्यालेस्टाइनी नेता माहमुद अब्बासले शनिबार वासिंगटनले इजरायललाई मात्र पायक पर्ने गरी विवादास्पद मध्यपूर्वी योजना सार्वजनिक गरेपछि अब प्यालेस्टाइनले सुरक्षा सहयोगलगायत इजरायल र संयुक्त राज्य अमेरिकासँगका सम्पूर्ण सम्बन्ध तोड्ने घोषणा गरेका छन्।

अब्बासले यसअघि पनि यस्तै किसिमका घोषणाहरू गरिसकेका छन्। तर यसको अर्थ व्यवहारमा के हुने हो भन्ने तत्कालै स्पष्ट भइसकेको छैन। प्यालेस्टाइनीहरूलाई आक्रोशित पारेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यस योजनालाई अरव लिगले पनि अस्विकार गरेपछि अब्बासको यो प्रतिक्रिया सार्वजनिक भएको हो।

कायरोमा आयोजित पान – अरव समुहको विशेष बैठकमा अब्बासले यो घोषणा गरेका हुन्। उनले इजरायलले प्यालेस्टाइनी भूभाग कब्जाका लागि आफै जिम्मेवार हुने र प्यालेस्टाइनीहरूले शान्तिपुर्ण तरिकाले त्यसको विरोध गर्दै आएको बताएका छन्। जेरुसेलम स्थित अल –अक्सा मस्जिद परिसरको विवादलाई लिएर पनि सन् २०१७ को जुलाईमा अब्बासले इजरायलँंगको सुरक्षा समन्वय स्थगन गर्ने यस्तै प्रकारको घोषणा गरेका थिए

तर त्यो समन्वय सोही वर्षको उत्तरार्धमा पुन शुरु भएको थियो। कायरो बैठकमा साउदी अरेबिया र युनाइटेड अरव इमिरेटसका विदेशमन्त्रीहरूलगायत वरिष्ठ अरव अधिकारीहरूको जमघट भएके थियो।

बैठकमा अरव लिगका प्रमुख अहमद अवोल घेइटले अमेरिकी योजनाले प्यालेस्टाइनी जनतालाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्न खोजेको आरोप लगाएका छन्। अरव लिगले ट्रम्पको योजनाले प्यालेस्टाइनी जनताको न्यूनतम अधिकार र चाहनालाई पुरा गर्न नसकेको भन्दै त्यसलाई अस्वीकार गरेको हो।