आश्रम निर्माणका लागि बुटवलमा महायज्ञ

0
Shares

यमलाल भुसाल, बुटवल।

सडक बेसहारा, सहयोगापेक्षी मानवलाई व्यवस्थापन गर्ने गरी स्थापित मानव सेवा आश्रममा १ हजार १ सय जनाले आश्रमको विभिन्न केन्द्रबाट संरक्षण प्राप्त गरेका छन्।मुलुकका १४ जिल्लाका १९ वटा केन्द्रमा राखिएका बेसहारा, अभिभावकविहीन, सडकआश्रित मानवलाई व्यस्थापन गर्न मासिक सवा करोड रुपियाँ खर्च हुने गरेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो।

त्यसमध्ये सरकारका विभिन्न निकायवाट १० प्रतिशत र बाँकी दानवीरहरूवाट सङ्कलित रकमबाट व्यवस्थापन गरिएको बताइएको छ।
आश्रमले विसं २०८२ सालभित्र मुलुकका सातै प्रदेशलाई बेसहारा, अभिभावकविहीन, सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्रनिर्माणमा टेवा पुग्ने गरी काम गरिरहेको अध्यक्ष अधिकारीले बताउनु भयो।

सोही अभियानअन्तर्गत बुटवलमा प्रदेश ५ को मानवमुक्त बेसहारा भवन निर्माण तथा अक्षयकोष स्थापनाका लागि आज सोमवार देखि शुरु हुने श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञका बारेमा जानकारी गराउन आइतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले महायज्ञको सबै तयारी पूरा भएको बताउनुभयो।

बुटवलको महायज्ञमा ११ करोड संकलन गर्ने र बुटवल उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा ४ तले भवन निर्माण गर्ने पत्रकार सम्मेलनमा महायज्ञ मुल समारोहका संयोजक लोकनाथ भुसालले बताउनु भयो।

यही माघ २७ गतेसम्म बुटवलको सुख्खानगरमा हुने महायज्ञमा स्थानीयको उत्साहजनक सहभागिता गराउन बुटवलका घरघरमा करिब ३० हजार निमन्त्रणापत्र बाँडिएको मूल आयोजक समितिका महासचिव माधव नेपालले बताउनुभयो। महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित तथा गुरुहरूको सामूहिक उपस्थिति,राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरू समावेश गरिएको सचिव गुनाराम घिमिरेले बताउनु भयो ।

प्रदेश ५ का मुख्य मन्त्री, मन्त्रीहरू ,रुपन्देहीका चारवटा नगरपालिकाले महायज्ञलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ्।
भवन बनाउन बुटवल उपमहानगरपालिकाको वडा नंं. ७ हिलपार्क परिसरमा चारकठ््ठा जग्गा व्यवस्थापन भइसकेको छ। दुई सय जना सहयोगापेक्षी बेसहारालाई सेवा दिन मिल्ने गरी कम्तीमा ५० कोठासहितको सुविधा सम्पन्न चारतले भवन बनाउने आश्रमको योजना छ।

हेटौडामा मुख्य कार्यालय रहेको आश्रमको ७ करोडको लागतमा २ सय जना अटाउने भवन तयार भएको र आउँदो फागुन ४ गते गृह प्रवेश गर्ने तयारी भैरहेको पनि अध्यक्ष अधिकारीले बताउनुभयो।

उहाँले चितवनमा दाताले ८ कठ्ठा जग्गा, गोर्खा नगरपालिकाले ९रोपनी जग्गा, वीरगन्ज महानगरपालिकाले ९ कठ्ठा जग्गा, काठमाडाँै महानगरपालिकाले ६ करोड रुपियाँ विनियोजन गरेको र सुर्खेतमा कर्णाली प्रदेश जग्गाको व्यवस्थापन गरिसकेकाले आउँदो २ वर्ष आश्रमको भौतिक संरचना निर्माणको वर्षका रूपमा रहेको पनि बताउनुभयो। बुटवलको आश्रम कार्यालयमा हाल १ सय ३० जनाले संरक्षण लिएकोमा ६० प्रतिशत मनोरोगी, २० प्रतिशत जना शारीरिक अपाङ्गता भएका व्यक्ति रहेका छन्।