प्रहरीमा प्रमुखदेखि जवानसम्मको संयुक्त मेस अभियान शुरू

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर।

नेपाल प्रहरीमा अधिकृत र जवान कर्मचारीको भान्छा एकै थलोमा हुने भएको छ।त्यसका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीनै जिल्लामा रहेका प्रहरी इकाइहरूमा मेस सुधार अभियान सुरु गरेको हो।

भक्तपुरको रहेको महानगरीय प्रहरी वृत्त थिमीमा प्रहरी अधिकृत एवं प्रहरी जवान संयुक्त मेस कार्यक्रमको प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले आइतबार शुभारम्भ गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक पोखरेलले प्रहरीमा सामूहिकताको भावनाको विकास गर्न मेस सुधार गर्न थालेको बताउनुभयो। प्रहरीको व्यावसायिकतालाई सुधार गर्न मेस, आचरण धेरै कुरा क्रमशः सुधार गर्दै जानुपर्ने प्रहरी नायब महानिरीक्षक पोखरेलले बताउनुभयो। उहाँले थिम बृत्तको मेस नमुनायोग्य रहेको बताउँदै उपत्यकाका सबै प्रहरी कार्यालयमा यस्तै संयुक्त मेस निर्माण अभियान थालिएको बताउनुभयो।

पोखरेलले मेस सुधारको अभियान चर्चा–परिचर्चाको विषय मात्र नभई वर्षौदेखि चलिआएको प्रहरी प्रहरी बीचको मनोवैज्ञानिक दूरी अन्त्यको परिष्कृत रूप भएको बताउनुभयो। यसले पदीय जिम्मेवारी बाहेकको भाइचारा विकास गरी अपनत्व भाव सृजना गर्ने उल्लेख गर्दै पोखरेलले यस्ता कार्यले सामूहिक ऐक्यबद्धतालाई प्रोत्साहित गरी अन्ततोगत्वा परिणाममुखी कार्य सम्पादनमा गहन भूमिका निर्वाह गर्ने बताउनुभयो।

यसअघि प्रहरी कर्मचारीका लागि सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हवल्दार गरी ३ तहको मेस सञ्चालन हँुदै आएको उल्लेख गर्दै पोखरेलले तीन ठाउँमा मेस सञ्चालन गर्दा लागत बढी भएपनि तल्लो दर्जाको मेशमा अपेक्षित सुधार हुन नसकेको महसुस गरेर आफुले मेस सुधारको कार्यक्रम अघि सारेको बताउनुभयो।

चौविसै घण्टा डिउटीमा खटिने प्रहरी कर्मचारीलाई गुणस्तरीय खाना, सफा मेश तथा व्यारेक भवन लगायतका सेवा सुविधाहरू उपलब्ध गराए मात्र सेवा प्रवाह अझ बढी स्तरीय र प्रभावकारी हुने पोखरेलको भनाइ थियो।

प्रहरी कर्मचारीहरूको सेवा–सुविधाको लागि आफू जहाँ र जहिले पनि लड्ने उल्लेख गर्दै पोखरेलले तल्लो वर्गको कर्मचारीहरूको वृत्त विकासलाई ध्यानमा राखी उनीहरूको मनोबल माथि उकास्न सके मात्र उनीहरूबाट प्रवाह हुने सेवा प्रभावकारी हुने भएकाले आफुले जवान–हवल्दार लक्षित अभियान संचालन गरेको बताउनु भयो। केही समयपछि ट्राफिक प्रहरीहरूलाई लुगा धुन सहज होस् भनेर वासिङ मेशिसन दिने तयारी भइरहेको उहाँको भनाइ थियो।

मेस सुधारको कार्य अन्यत्र जिल्लामा समेत क्रमशः लागू गर्दै जाने तयारी प्रहरीले गरिरहेको उहाँले बताउनुभयो।थिमी वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) शान्तिराज कोइरालाका अनुसार वृत्तमा मेस सुधार अन्तर्र्र्गत भान्छा, पिउने पानीको धारा, खाना खाने कोठा लगायतका पूर्वाधारहरूको सुधार गरिएको छ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेले मेस सुधारको नमुना कार्यको थालनी गरेको भन्दै वृत्त थिमीका प्रमुख डीएसपी कोइराला, प्रहरी नायब निरीक्षक पृथ्वीबहादुर खत्री, प्रहरी नायब निरीक्षक तेजबहादुर बस्नेत, प्रहरी हवल्दार रामबाबु कुशवाह र प्रहरी जवान देवेश मिश्रलाई सम्मानस्वरुप पुरस्कार प्रदान गर्नुभयो।

नमुना योग्य मेस बनेको भन्दै उपत्यकाका सबै वृत्तका प्रमुखले यहाँको मेसको प्रत्यक्ष अवलोकन गरेका छन्। नेपालमै पहिलो पल्ट कार्यालय प्रमुख, प्रहरी अधिकृत एवं जवान संयुक्त म िभक्तपुरको मध्यपुर थिमीबाट शुरु भएको छ।

महानगरीय प्रहरी वृत्त थिमीले मुलुकमै पहिलोपल्ट त्यस्तो मेस सञ्चालनमा ल्याएको हो। सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षकद्वय श्याम ज्ञवाली र किरण बज्राचार्यलगायतका प्रहरी अधिकारीको सहभागिता रहेको थियो।