खड्की सेवाद्वारा प्रहरी महानिरीक्षक खनाल सम्मानित


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल खड्गी सेवा समितिले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई शनिबार सम्मान गरेको छ। समितिको राजधानीको वसन्तपुरमा भएको सातौं महाधिवेशनमा महानिरीक्षक खनाललाई सम्मान गरिएको हो।
५० वटा नायखिँ बाजाको ध्वनीका बीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानिरीक्षक खनाललाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभयो।सो अवसरमा समितिका संरक्षक मनोज नेवाःखड्गीले खनाललाई फूलमाला र खादा ओढाइदिनुभयो।

नेपाल प्रहरीको व्यावसायिकता, नागरिकमैत्री र जवाफदेही प्रहरी प्रशासनका लागि निष्ठा र दक्षतापूर्वक काम गरेको भन्दै महानिरीक्षक खनाललाई समितिले सम्मान गरेको समितिका अध्यक्ष अन्जिता खड्गीले बताउनुभयो। सम्मानित भएपछि प्रहरी महानिरीक्षक खनालले सम्मानले राम्रो काम गर्न खोज्ने र गर्नेलाई उत्साह र जाँगर थप्ने उल्लेख गर्दै आफूलाई काम गर्न उत्साह थपेको बताउनुभयो।

नेपाल प्रहरी संगठन समुदायबाट अलग हुन नसक्ने धारणा राख्दै प्रहरी महानिरीक्षक खनालले समुदायको सहयोग र सद्भाव बिना प्रहरी संगठनले मात्र शान्ति सुरक्षा र अपराध न्यूनीकरणको काम गर्न नसक्ने बताउनुभयो। ‘प्रहरी संगठनलाई जवाफदेही बनाउन, राम्रो बनाउन सबैको सहयोग र सदभाव चाहिन्छ।’ –महानिरीक्षक खनालले भन्नुभयो।

सो अवसरमा महानगरपालिकाका मेयर शाक्यले प्रहरी संगठनलाई समुदायमैत्री र व्यावसायिक बनाउन महानिरीक्षक खनालको नेतृत्वले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्नुभयो। जन्मले कोही ठूलो र उँच नहुने र कर्मले ठूलो र सानो हुने भन्दै मेयर शाक्यले भन्नुभयो ‘संस्कृति, परम्परालाई जोगाउँदै समुदायको आर्थिक र शैक्षिक स्तर उकास्नका लागि काम गर्दै अघि बढन् सकोस्। यही मेरो शुभकामना। ’

आफ्नो कार्यकालमा भूकम्पबाट भत्किएका, जीर्ण भएका, देवालय, मठमन्दिर, पाटी, पौवा, विहार, चैत्य सबैको मर्मत र संरक्षण गरी काठमाडौंलाई सांस्कृतिक शहरको रुपमा जोगाई राख्ने उद्देश्यले काम गरिरहेको पनि मेयर शाक्यले बताउनुभयो।

सो अवसरमा समितिका संस्थापक सदस्य गणेशबहादुर शाहीलगायत संस्कृति, बाजागाजा संरक्षणमा महत्वपूर्ण योगदान दिनुभएका डेढ सय जना परम्परागत बाजागाजाका गुरुहरूलाई पनि सम्मान गरिएको थियो।

पत्रकार सम्मान
सो अवसरमा ६ जना पत्रकारहरूलाई शनिबार सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा लहना साप्ताहिकका नृपेन्द्रलाल श्रेष्ठ र सुरेन्द्रभक्त श्रेष्ठ, नेपालमण्डल टेलिभिजनका सिल्भिया राजोपाध्याय, झीगु डटकमका रेखा शाक्य, नेवा टिभीका नवीन जोशी र रेडिया मिर्मरेका बुद्धशरण शाही रहनुभएको छ।

सम्मानित हुनेहरूलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मानपत्र र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फूलमाला लगाइदिनुभएको थियो।