महानिर्देशकको लिगलिगे

दौडमा आधा दर्जन सहसचिव


नेपाल समाचारपत्र, काठमाडौं।

माघ १८ बाट अवकाश हुनुभएका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक सहसचिव बाबुराम पौडेल महानिर्देशक बन्न दौडधुप शुरु गर्नुभएको छ। महानिर्देशकको लिगलिगे दौडमा आधा दर्जन सहसचिव लागेका छन्।

दौडमा अग्रपंक्तिमा छैटांै नम्बरमा रहेका सहसचिव कृष्णप्रसाद काप्री रहनुभएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विद्यालय शिक्षा गिरिराजमणि पोखरेलका नजिक रहेका सहसचिव काप्री हाल मन्त्रालयको विद्यालय शिक्षा महाशाखाको प्रमुख हुनुहुन्छ।

केन्द्रका महानिर्देशक बाबुराम पौडेलपछि वरिष्ठतामा रहेका सहसचिव खगेन्द्र नेपाल, त्यसपछि चूडामणि पौडेल, डा. हरि लम्साल, डा. तुलसी थपलिया, डा. लेखनाथ पौडेलपछिका कनिष्ठ सहसचिव काप्री महानिर्देशक बन्ने डौडमा रहेको स्रोतको भनाइ छ। स्रोतका अनुसार अधिकांश सहसचिव डा. तुलसी थपलिया र चूडामणि पौडेलमध्ये एकलाई महानिर्देशक बनाउनुपर्ने धारणा राख्दै आएका छन्।

तर काप्री आफू जसरी भए पनि महानिर्देशक बन्ने दौडमा रहेको मन्त्रालयको स्रोतले जनाएको छ। मन्त्रालयपछिको सबैभन्दा बढी बजेट भएको केन्द्रमा कसले बाजी मार्ने भन्ने विषयमा सहसचिवबीच नै चर्चा हुन थालेको छ। केन्द्रमा विद्यालय सुधार कार्यक्रम (एसएसडीपी) सहित करिब १० अर्बको बजेट रहेको छ। महानिर्देशकजस्तो महत्वपूर्ण पदमा कसलाई ल्याउने भन्ने विषयमा मन्त्रीले निर्णय गर्न सक्नुभएको छैन।

मन्त्रालयमा कार्यरत सहसचिव कमल पोखरेल, दीपक शर्मा, कृष्णप्रसाद काप्री, रामशरण सापकोटा, शिक्षक सेवा आयोगका वैकुष्ठप्रसाद अर्याल, पाठ्यक्रम विकास केन्द्रमा डा. लेखनाथ पौडेल, केन्द्रमा डा. तुलसी थपलिया, इमनारायण श्रेष्ठ, विष्णु अधिकारी, शिक्षाका लागि खाद्य कार्यक्रममा खगेन्द्र नेपाल, सीएलपीआईयूका चूडामणि पौडेल, चिकित्सा शिक्षा आयोगमा डा. हरि लम्साल, ईआरओमा केशव दाहाल र युवा तथा खेलकुद मन्त्रालयमा शिक्षाका सहसचिव अणप्रसाद न्यौपाने रहनुभएको छ। तीमध्ये को महानिर्देक बन्ने भन्ने विषयमा मन्त्री छलफलमै रहनुभएको छ। स्रोतका अनुसार महानिर्देशक बन्ने दौडमा रहेका सहसचिव काप्री विभिन्न शक्ति केन्द्र धाउन थालेको मन्त्रालय स्रोतको भनाइ छ।