कुष्ठरोगीको संख्यामा बढोत्तरी


नेपाल समाचारपत्र, काठमाडौं । 

नेपालमा कुष्ठरोग निवारण भएको १० वर्ष बितेपछि पनि कुष्ठरोगीको संख्या घट्दै जानुको सट्टा बढ्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। विश्व स्वास्थ्य संगठनले सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण भएको मुलुक घोषणा गरेको थियो। त्यसताका स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार नेपालमा ३ हजार १ सय १८ जना कुष्ठरोगी रहेकोमा यस वर्ष मात्रै ३२ सय ८२ जना नयाँ बिरामी पत्ता लागिसकेको छ।

वर्षेनीजस्तो नयाँ रोगीको संख्या बढ्दै जानु कुष्ठरोग निवारण गर्ने मुलुकको लागि चिन्ताको विषय भएको लामो समय कुष्ठरोगीका सेवामा बिताउनुभएको वरिष्ठ छाला रोग विशेषज्ञ डा. महेश शाहले बताउनुभयो। ‘नेपाल कुष्ठरोग निवारण भएको १० वर्ष भयो। कुष्ठरोगी भने बढ्दै गइरहेको छ। हाम्रो देशका लागि यो चिन्ताकै विषय हो।’, –डा. शाहले बताउनुभयो।

सन् २०२० सम्म रणनीति बनाउँदै विश्व स्वास्थ्य संगठनले कुष्ठरोग, एक व्यक्तिबाट अर्काैमा सर्ने, अंगभंग (कुष्ठरोगको कारणले गर्दा), अपहेलना र तिरस्कारलाई शून्यमा झार्ने दूरदृष्टि लिएको छ। तर नेपालमा भने नयाँ बिरामीसमेत फेला पर्दै गईरहनुले थप चिन्ताको विषय भएको कुष्ठरोग नियन्त्रण महाशाखाका प्रमुख डा. उत्तम घिमिरेले बताउनुभयो। कुष्ठरोग निवारण घोषणा भएपछि पनि रोगीको संख्या बढेपछि उन्मूलन गर्नका लागि सरकारले यस रोगको बारेमा सूक्ष्म अनुसन्धान गर्नका लागि बजेटको आकारसमेत बढाउनुपर्ने उहाँलगायत सरोकारवालाहरूको जोड छ।

निवारण भएको रोगलाई धेरै बजेट चाहिँदैन भन्ने भ्रम भएको कारण कुष्ठरोगी बढ्दै गएको पनि हुन सक्ने सरोकारवालाले उठाएका छन्। कुष्ठरोगको कार्यक्रमलाई मन्त्रालयले प्राथमिकताको साथ राख्नुपर्ने उनीहरूको सुझाव छ। सरकारी मात्रै होइन गैरसरकारी तथा अन्तर्राष्ट्रिय दातृनिकायले पनि निवारणपछि नेपालमा कुष्ठरोगी नभएको भन्दै कार्यक्रमहरू घटाउँदै गएका छन्। यसरी सरकारी वेवास्ताकै कारण कुष्ठरोग निवारण भनेर घोषणा गरिए पनि रोगीको संख्या बढ्दै गएको छ।

कुष्ठरोगलाई धेरै पहिले देखि सामाजिक कलंकसँग जोडिँदै आएको छ। जुन कारणले गर्दा बिरामी स्वयम्ले यो बारे जानकारी गराएर प्रारम्भिक चरणमै उपचार प्राप्त गर्न हिचकिचाउँछन् जसले गर्दा पनि रोगीको संख्या बढिरहेको महाशाखाले जनाएको छ। कुष्ठरोग निवारण भनेर घोषणा गर्दा ११ जिल्लामा यो रोग निवारण भएको थिएन। २०२० सम्म आइपुग्दा निवारण नभएका जिल्ला बढेर १७ पुगेको छ।
सरकारले खोजी नगरेको र समुदायको डरले उपचार गर्न स्वास्थ्य संस्था नजाने भएकाले रोगीको संख्या धेरै हुन सक्ने डा. घिमिरेले बताउनुभयो।