कोरोना भाइरस संक्रमणको प्रभाव : तीन सयभन्दा बढी नेपाली स्वदेश फर्कन इच्छुक

0
Shares

सुनील महर्जन, काठमाडौं।

कोरोना भाइरसको संक्रमणबाट उद्धार गर्न तीन सयभन्दा बढी नेपालीले सरकारसँग आग्रह गरेका छन्।नेपाली दूतावासले शनिबार सूचना जारी गरी यसका लागि इच्छुक नेपालीलाई आवेदन दिन भनेको थियो।चीनको नेपालस्थित दूतावासले नेपाल फर्कन चाहने नेपालीलाई आवेदन दिन आग्रह गरेपछि आइतबारसम्म तीन सयभन्दा बढी नेपालीले फारम भरेका हुन्।

दूतावासका अनुसार हुवेभन्दा बाहेकका प्रान्तबाट पनि आवेदन परेको छ। कतिपयले आफ्ना साथीका पनि फारम भरिदिएका छन्। ती निवेदन अध्ययन गरिरहेको दूतावासको तथ्यांक उद्धृत गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले दूतावासले नेपाल फर्कन चाहनेको तथ्यांक लिइरहेको बताउनुभयो।

अहिलेसम्म हुवे प्रान्तका नेपालीलाई मात्र सूचीमा लिने काम भइरहेको छ। सूची लिइएपछि नेपाल फर्काइनेको संख्या एकिन हुने मन्त्रालयले जनाएको छ।
सरकारले हुवे प्रान्तको बुहानमा रहेका नेपालीलाई उद्धार गर्ने निर्णय गरेपछि चीनस्थित नेपाली दूतावासले चीन सरकारसँग समन्वय गर्ने कार्य अघि बढाएको थियो।

प्रवक्ता पौडेलले भन्नुभयो– ‘उद्धारका लागि विमान पठाउन र नेपालीलाई उद्धार गरेर ल्याउन अन्तर्राष्ट्रिय प्रचलन र विधिहरू रहेकाले त्यसको सहजीकरण गरिदिन चीन सरकारलाई भनेका छौं।’

नेपालले भन्नेबित्तिकै चीनले फर्किन नदिने बताउँदै उहाँले त्यसअघि उद्धार गरिएकालाई निगरानीमा राख्ने स्थान, उनीहरूको उपचारमा खटिने जनशक्ति, उपचारमा प्रयोग हुने उपकरण र ल्याबलगायतको चित्तबुझ्दो विवरण भएमात्र चीनले स्वदेश फर्काउने जानकारी दिनुभयो।प्रवक्ता पौडेलका अनुसार बुहान शहरबाट नेपाल फिर्ता ल्याइएपछि ती नेपालीलाई कम्तीमा १४ दिनसम्म अरूको सम्पर्कमा जान दिइनेछैन।

कतिजना फिर्ता आउने भन्ने टुंगो लागेपछि यसको प्रबन्ध स्वास्थ्य मन्त्रालयले गर्नेछ।हुवे प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट गत डिसेम्बर अन्तिम सातादेखि अहिलेसम्म ३ सय बढीको ज्यान गइसकेको छ। कैयौं संक्रमित छन्। कोरोनाको संक्रमण विश्वका २२ देशमा फैलिइसकेको छ भने चीनबाहिर पहिलोपटक फिलिपिन्समा एकजनाको मृत्यु भएको छ।