एसएसपी राणाद्वारा आत्मसमर्पण

0
Shares

विराटनगर, (नेस)।

सुनसरी जिल्ला अदालतले पक्राउपुर्जी जारी गरेपछि बलात्कार आरोपमा निलम्बनमा परेका संघीय प्रहरी एकाइ कार्यालय धरानमा कार्यरत एसएसपी सौरभ राणाले आफै जिल्ला प्रहरी कार्यालयमा पुगी आत्मसमर्पण गर्नुभएको छ।

बलात्कार आरोपमा जाहेरी दर्ता भएका राणालाई अदालतले आइतबार पक्राउ गर्ने अनुमति दिएको थियो।पक्राउपुर्जी जारीपछि राणा आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुनुभएको हो।

‘उहाँ आफै प्रहरी कार्यालयमा हाजिर हुनुभयो, कानुनी प्रक्रिया शुरू भइसकेको छ’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी विनोद शर्माले भन्नुभयो– ‘उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ।’

राणाबाट आफू बलात्कृत भएको भन्दै झापाकी एक महिलाले बिहीबार जाहेरी दर्ता गराएकी थिइन्। उनले आफू विगत १५ वर्षदेखि राणाबाट पीडित भएको जाहेरीमा उल्लेख गरेकी छिन्।

पछिल्लोपटक गत साउनमा इटहरीमा बलात्कृत भएको जाहेरीमा उल्लेख गरेकी थिइन्। प्रहरीले ती महिलाको मेडिकल जाँच र घटनास्थलको मुचुल्का उठाइसकेको छ।

यसैबीच जबरजस्ती करणी आरोपमा प्रहरी नियन्त्रणमा रहेका निलम्बित एसएसपी सौरभ राणाको मेडिकल गर्दा ढिला भएकाले आज सोमबार म्याद थपिने जिप्रका सुनसरीका डीएसपी विनोद शर्माले जानकारी दिनुभयो।

यौनशोषणको आरोप लागेका एसएसपी राणा शनिबार काठमाडौं जाने तयारीमा हुनुुहुन्थ्यो। उहाँलाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको थियो।