गौरीशंकरको काखमा लोकप्रिय बन्दै ‘होम स्टे’

0
Shares

चिरञ्जीवी मास्के, दोलखा। 

दोलखाको हिमाली गाउँहरूमा अहिले होम स्टे लोकप्रिय बन्दै गएको छ। रोल्वालिङ पदमार्ग हुँदै गौरीशङ्कर हिमाल, च्छो रोल्पा हिमताल, दूधकुण्डलगायतका पर्यटकीय गन्तव्य पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरू अहिले होम स्टेमा रमाउन थालेका छन्।

हिमाली गाउँ टाँसिनामका रामबहादुर ठकुरीका अनुसार झन्डै ६ वर्षअघि खोलिएको उहाँको होम स्टे पछिल्लो समय निकै लोकप्रिय छ।
गौरीशङ्कर गाउँपालिका–१ मा पर्ने टाँसिनाममा होम स्टे सञ्चालन गर्दै आएका ठकुरी केही वर्षयता नेपाली तथा विदेशी पर्यटकहरूको आगमन बाक्लिएको बताउनुहुन्छ।

‘मानिसहरू अहिले रोल्वालिङ पदमार्गको ग्रामीण परिवेश, खानपान, रीतिरिवाज र भेषभूषामा समेत चासो देखाउन थालेका छन्’, ठकुरीले भन्नुभयो– ‘त्यसैले उनीहरू होम स्टेमा बसेर परिवारका सदस्यसंँग गफिने, स्थानीय परिकार खाने र हिमाली गाउँको वातावरणमा रमाउने गर्न थालेका छन्।’

रोल्वालिङको वैकल्पिक पदमार्गमा रहेको गौरीशङ्कर गाउँपालिकाकै चंखु ल्वासामा रहेको आफ्नो घरमा होम स्टे सञ्चालन गर्दै आएका वाङ्छु शेर्पा पनि भूकम्पपछि हिमाली गाउँमा होम स्टे लोकप्रिय हुँदै गएको बताउनुहुन्छ।

पर्यटकहरू अहिले प्राकृतिक सुन्दरतामा रमाउने मात्र होइन, स्थानीय वातावरणमा घुलमिल गर्ने, रीतिरिवाज, भाषा, भेषभूषा, संस्कार, संस्कृति र खानपानमा समेत चासो दिने भएकाले होम स्टेमा बसेर स्थानीय परिवारसंँग नजिकिन थालेको वाङ्छु बताउनुहुन्छ।

दोलखाको गौरीशङ्कर गाउँपालिकामा पर्ने चारवटा हिमाली गाउँमा गौरीशङ्कर संरक्षण क्षेत्रले होम स्टे सञ्चालनका लागि स्थानीयलाई आर्थिक सहयोगसंँगै तालिमको समेत व्यवस्था गरिदिएको छ।

ल्वासाका होम स्टे सञ्चालक वाङ्छु गौरीशङ्कर संरक्षण क्षेत्रको सहयोग र प्रचार प्रसारका कारण पनि हिमाली गाउँमा होम स्टे लोकप्रिय बन्दै गएको बताउनुहुन्छ।

त्यसको अलवा रोल्वालिङ पदमार्गमा सुविधासम्पन्न होटलहरूको अभावले पनि गाउँघरमा सञ्चालनमा रहेको होम स्टे लोकप्रिय भएको वाङ्छुको भनाइ छ।गौरीशङ्कर संरक्षण क्षेत्रले होम स्टे सञ्चालन र प्रवद्र्धनका लागि सहयोग गरेको संरक्षण क्षेत्र प्रमुख सत्यनारायण शाह बताउनुहुन्छ।

संरक्षण क्षेत्रको सहयोगमा रोल्वालिङ पदमार्गमा पर्ने गौरीशङ्कर गाउँपालिकाको सिमिगाउँमा १० वटा, टाँसिनाममा तीनवटा, चंखुको ल्वासामा सातवटा र मार्बुमा १० वटा होम स्टे सञ्चालनमा रहेको संरक्षण क्षेत्रका याङ्टी शेर्पाले बताउनुभयो।

त्यसरी सञ्चालनमा रहेका होम स्टेका लागि संरक्षण क्षेत्रले १५ हजार बराबरको दुईवटा बेड र कोठाको विभिन्न सामानहरू सहयोग गरेको याङ्टीले बताउनुभयो। त्यसै गरी संरक्षण क्षेत्रले कुक तालिम र पर्यटकसंँग गर्ने व्यवहारका बारेमा समेत तालिम दिँदै आएको उहाँले खुलाउनुभयो।