कोरोना भाइरस अपडेटः संक्रमण फैलन नदिन सतर्क रहन डब्लुएचओको निर्देशन


न्युज अफ नेपाल, काठमाडौं ।

नयाँ कोरोना भाइरस पहिचान गर्न र यसको संक्रमण फैलन नदिन तयारी अवस्थामा रहनु अत्यावश्यक रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । नेपाल सरकारले गरेको निर्णयअनुसार चाइनास्थित नेपाली दुतावासले फ्रेब्रुअरी १, २०२० मा विज्ञप्ती जारी गर्दै अब नेपालमा चीनबाट आउँने चार्टर उडानहरु खुल्ला गरेको छ । तर चीनको हुवई प्रोभेन्सीमा बसोबास गर्ने नेपालीले भने दुतावासको इमेल बेइजीङ एबदरेट नेपाल एम्बेसी डट ओआरजी डट सीएनमा फर्म भरेर जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयले यस क्षेत्रका राष्ट्रहरूलाई नयाँ कोरोना भाइरसको संक्रमण भित्रिएमा छिटो भन्दा छिटो पहिचान गर्न र यसलाई फैलन नदिनका लागि सतर्क रहनुका साथै आवश्यक तयारी बढाउन अनुरोध गरेको छ । “नयाँ कोरोना भाइरसबारे हामीलाई जे जति कुरा थाहा छ त्यसलाई मध्यनजर गर्दै सबै प्रयासहरू यस भाइरस विरुद्धको तयारीमा केन्द्रित गर्ने बेला आएको छ,” संगठनका दक्षिण–पूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भन्नुभयो ।

‘यो एउटा नयाँ भाइरस भएकाले हामीलाई यसबारे धेरै कुरा थाहा हुन बाँकी नै छ,’ क्षेत्रीय निर्देशकले भन्नुभयो ।  उहाँले भन्नुभयो– ‘डब्लूएचओले विश्वव्यापी रूपमा संक्रमण पत्ता लगाउन, परीक्षण गर्न, संक्रमणको चिकित्सकीय व्यवस्थापन गर्न, भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिहरूलाई स्वास्थ्य संस्था वा घरमा हेरचाह गर्दा संक्रमण रोकथाम तथा नियन्त्रण गर्न र भाइरसको संक्रमण न्यूनीकरण गर्ने उपायसहितको अन्तरिम मार्गदर्शनहरू तयार पारेको छ ।’

प्रयोगशालाको नमूना सङ्कलन गरी पठाउने तथा निदान गर्ने लगायतका निदानसम्बन्धी क्षमताहरूको समीक्षा गरी उक्त क्षमता अभिवृद्धि गर्नेस संक्रमणको व्यवस्थापन, नमूना सङ्कलन तथा स्थानान्तरण र संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न आवश्यक तालिम दिनेस जनसमुदायमा यस संक्रमणका जोखिम र अपनाउनु पर्ने सावधानीबारे जनचेतना फैलाउने कार्यलाई प्राथमिकतामा राख्दै यी मार्गदर्शनहरू अभ्यासमा ल्याउन संगठनले यस क्षेत्रका राष्ट्रहरूसँग सहकार्य गरिरहेको छ।

यो प्रकोप सुरु भएदेखि नै क्षेत्रीय निर्देशक डा. खेत्रपाल सिंह सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरूसँग सम्पर्कमा रहँदै आउनुभएको छ । गत हप्ता डा. खेत्रपाल सिंहले यी राष्ट्रहरूले गरेको तयारी र संगठनले यी राष्ट्रहरूलाई प्रदान गरिरहको सहायताबारे जानकारी लिनुभएको थियो । संगठनका दक्षिण-पूर्वी एसिया क्षेत्रका दुई राष्ट्रहरू, थाइल्याण्ड र नेपालले त्यहाँ केही व्यक्तिहरूमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको कुरा पुष्टि गरिसकेका छन् ।

संगठनले यस रोगको निगरानी, इपिडिमियोलोजी, मोडलिङ, निदान, चिकित्सकीय स्याहार तथा उपचार तथा संक्रमणको पहिचान, व्यवस्थापन तथा नियन्त्रण गर्ने अन्य उपायहरू खोज्ने कार्यमा अनुसन्धानकर्ता र अन्य विज्ञहरूसँग विश्वव्यापी रूपमा सहकार्य गरिरहेको छ।

गत हप्ता बसेको अन्तर्रा्ष्ट्रिय स्वास्थ्य नियमनको आपतकालीन समितिको बैठकले नोवेल कोरोना भाइरस-२०१९ भनिने नयाँ कोरोना भाइरसलाई अन्तर्रा्ष्ट्रिय चासोको जनस्वास्थ्य सङ्कट (पीएचईआईसी) घोषणा नगरे पनि यसको जोखिम “उच्च” रहेको आकलन गरेको थियो ।

डा. खेत्रपाल सिंहले “यस भाइरसको संक्रमण नियन्त्रण गर्न र यसलाई थप फैलन नदिन हामी सतर्क र तयारी अवस्थामा रहनुपर्छ” भन्ने कुरालाई जोड दिँदै संगठनले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र भाइरस भित्रिएमा त्यससँग जुध्नका लागि आवश्यक तयारी बढाउन तथा अन्तराष्टिय स्वास्थ्य नियमनले सुझाएका मूलभूत उपायहरूको कार्यान्वयनमा सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न संगठन प्रतिबद्ध रहेको कुरा बताउनुभयो ।

डब्लूएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा निम्न ११ सदस्य राष्ट्रहरू पर्छनः बंगलादेश, भुटान, प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, नेपाल, श्रीलंका, थाइल्याण्ड र टिमोर-लेस्टी ।