हेटौंडा–काठमाडौं सुरुङमार्ग प्रदेशको ‘गेमचेञ्जर प्रोजेक्ट’


न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश स्थापना भएसँगै यसको अभ्यास सुरु भएको बताउनुभएको छ । बागमती प्रदेशसभाको दास्रो वार्षिक दिवसका अवसरमा उहाँले ‘सुखी नेपाली–सम्बृद्ध नेपाल’ निर्माणतर्फ अग्रसर बन्न आग्रह गर्नुभयो । प्रसाईंले प्रदेश सरकारलाई विगतको कामको समिक्षा गर्दै ‘सुखी नेपाली–सम्बृद्ध नेपाल’ निर्माणमा अग्रसर बन्न आग्रह पनि गर्नुभयो । प्रसाईंले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा आमनागरिकको सक्रियतामा सम्बृद्धि प्राप्त गर्न सकिने बताउनुभयो ।

प्रसाईंले प्रदेश सरकारले आमजनताको इच्छाबमोजिम न्यायमूलक विकासमा जोड दिनुपर्ने भन्दै प्रदेशसभाको प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ उत्साहसाथ अर्को वर्षका लागि बजेट बनाउने तयारीमा जुटिएको बताउनुभयो । प्रदेशका मन्त्रालय, संसद् सचिवालय र सांसद् आवासका लागि जग्गा खोजी भइरहेको भन्दै उहाँले प्रदेशसभा सञ्चालनका लागि दुई वर्षका लागि प्रिफ्याबको अस्थायी भवन बनाउन लागिएको जानकारी दिनुभयो ।

हेटौंडा–काठमाडौं छोटो दुरीको मार्गमा सुरुङमार्ग निर्माण गर्ने काममा लागिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेशको ‘गेमचेञ्जर प्रोजेक्ट’ का रुपमा सुरुङमार्ग निर्माणमा लागिएको बताउँदै चैतमा सुरुङमार्ग टेण्डरमा जाने बताउनुभयो ।

उहाँले प्रदेशका सबै १३ जिल्लाको आवश्यकता बनेको हेटौंडा–काठमाडौं सुरुङमार्गको डीपीआर फागुनभित्र सकाएर चैतमा निर्माणका लागि बोलपत्र आह्वान गरिने स्पष्ट पार्नुभयो । मुख्यमन्त्री पौडेलले काठमाडौंसँग जोडिने हेटौंडाका सबै मार्गहरु ६ महिनाभित्र स्तरोन्नति र आरामदायी हुने जानकारी दिनुभयो । उहाँले हेटौंडाबाट काठमाडौं जाने छोटो बाटोमध्ये भैंसे–भीमफेदी सडकखण्डको केही दिनमा बोलपत्र आह्वान गरिने जानकारी गराउँदै भीमफेदी–कुलेखानी सडकखण्ड निर्माणका लागि निर्माण सामग्रीसमेत झरिसकेको बताउनुभयो । ‘प्रदेश राजधानी जोडिने सबै सडक अब फराकिला र स्तरीय हुनेछन्,’ उहाँको दाबी छ ।

मुख्यमन्त्री पौडेलले परिस्थिति सोचेअनुरुप नभए पनि प्रदेशका काममा निरास हुने अबस्था नरहेको दाबी गर्नुभयो । उहाँले विभिन्न अवरोधबीच प्रदेश सरकारले जनताका आवश्यक्तालाई ध्यानमा राखेर काम काम अगाडि बढाएको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश सभामुख सानुकुमार श्रेष्ठले दुई वर्ष अवधिमा प्रदेशसभाबाट ४५ वटा विधेयक पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको बताउनुभयो । चार अधिवेशनमध्ये पहिलोमा १९, दोस्रोमा ६१, तेस्रोमा ९ र चौथोमा ३८ वटा गरी १ सय २७ बैठक बसेको उहाँले जानकारी दिनुभयो ।

उक्त अवधिमा ४५ वटा विधेयक दर्ता भएर सबै प्रमाणीकरणसमेत भइसकेको तथा चालु अधिवेशनमा एउटा अद्यादेशसहित चार वटा विधेयक दर्ता भएकोमा अद्यादेश स्वीकृत भएको र दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संसोधन गर्न बनेको विधेयक पारित भइसकेको उहाँले जनाउनुभयो । पहिलो वर्ष ८० पटक बैठक बसेको प्रदेशसभामा २८ विधेयक दर्ता भएका थिए । उक्त वर्ष प्रदेशको प्राथमिकताका ५० वटा कानुनमध्ये प्रदेश सरकारले २४ वटा कानुन बनाउन सकेको थियो । प्रदेश सरकारका लागि ९९ वटा कानुन पहिचान गरिएकोमध्ये ५० वटा कानुनलाई प्राथमिकीकरण गरिएको छ ।

कार्यक्रममा प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको राजधानी आउने बाटो छिटो र छरितोरुपमा निर्माण गरिनुपर्ने बताउनुभयो । दुई तिहाइको प्रदेश सरकारलाई बजेट पर्याप्त छुट्याएर काम गर्न उहाँले सुझाउनुभयो । ‘दुई तिहाइको बलियो सरकार भएका बेला पनि बजेट खर्च गर्न नसक्नु राम्रो पक्ष होइन,’ उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभामा नियमित सहभागी हुने महिला सांसद्लाई सम्मानित गरिएको थियो । कार्यक्रममा पहिलो र दोस्रो वर्ष सबै प्रदेशसभा बैठकमा सहभागी प्रदेशसभा सदस्य देवकी श्रेष्ठ र दोस्रो वर्ष सबै बैठकमा सहभागी प्रदेशसभा सदस्य मैना अछामी र सरस्वती बस्नेतलाई प्रशंसापत्रद्वारा सम्मानित गरिएको थियो ।

२०७४ माघ १८ गते प्रदेशसभा पहिलो बैठक बसेको दिनलाई वर्षिकोत्सवका रुपमा मनाइएको हो । प्रदेशसहितको संघीयता कार्यान्वयन गर्ने गरी मुलुकको पुनर्संरचनापछि प्रदेशसभाको पहिलो बैठक प्रदेशको राजधानी हेटौंडामा २०७४ माघ १८ गते बसेको थियो । २०७४ माघ ७ गते प्रदेशका एक सय दश जना प्रदेशसभा सदस्यले सपथ लिएका थिए ।

प्रदेशसभा पहिलो बैठक बसेको शनिबार दुई वर्ष पुगेको छ । प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेलले सभामुखको भूमिका निर्वाह गर्दै प्रदेशसभा पहिलो बैठक बसेको थियो ।