५० वटा नायखिँ बाजा बजाएर सर्वेन्द्र खनालको सम्मान


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल खड्गी सेवा समितिले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई शनिबार सम्मान गरेको छ । समितिको राजधानीको वसन्तपुरमा भएको सातौं महाधिवेशनमा महानिरीक्षक खनाललाई सम्मान गरिएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानिरीक्षक खनाललाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभयो।सो अवसरमा समितिका संरक्षक मनोज नेवाःखड्गीले खनाललाई फुलमाला र खादा ओढाईदिनुभयो । नेपाल प्रहरीको व्यावसायिकता, नागरिकमैत्री र जवाफदेही प्रहरी प्रशासनको लागि निष्ठा र दक्षतापूर्वक काम गरेको भन्दै महानिरीक्षक खनाललाई समितिले सम्मान गरेको समितिका अध्यक्ष अन्जिता खड्गीले बताउनुभयो ।

सम्मानित भएपछि प्रहरी महानिरीक्षक खनालले सम्मानले राम्रो काम गर्न खोज्ने र गर्नेलाई उत्साह र जाँगर थप्ने उल्लेख गर्दै आफूलाई काम गर्न उत्साह थपेको बताउनुभयो । नेपाल प्रहरी संगठन समुदायबाट अलग हुन नसक्ने धारणा राख्दै प्रहरी महानिरीक्षक खनालले समुदायको सहयोग र सद्भाव बिना प्रहरी संगठनले मात्र शान्ति सुरक्षा र अपराध न्यूनीकरणको काम गर्न नसक्ने बताउनुभयो । ‘प्रहरी संगठनलाई जवाफदेही बनाउन, राम्रो बनाउन सबैको सहयोग र सदभाव चाहिन्छ । ’ महानिरीक्षक खनालले भन्नुभयो ।

सो अवसरमा महानगरपालिकाका मेयर शाक्यले प्रहरी संगठनलाई समुदायमैत्री र व्यावसायिक बनाउन महानिरीक्षक खनालको नेतृत्वले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्नुभयो । जन्मले कोही ठूलो र उँच नहुने र कर्मले ठूलो र सानो हुने भन्दै मेयर शाक्यले भन्नुभयो ‘संस्कृति, परम्परालाई जोगाउ“दै समुदायको आर्थिक र शैक्षिक स्तर उकास्नको लागि काम गर्दै अघि बढन् सकोस् । यही मेरो शुभकामना । ’

आफ्नो कार्यकालमा भूकम्पबाट भत्किएका, जीर्ण भएका, देवालय, मठ मन्दिर, पाटी, पौवा, विहार, चैत्य सबैको मर्मत र संरक्षण गरी काठमाडौंलाई सांस्कृतिक शहरको रुपमा जोगाई राख्ने उद्देश्यले काम गरिरहेको पनि मेयर शाक्यले बताउनुभयो ।

सो अवसरमा समितिका संस्थापक सदस्य गणेशबहादुर शाही लगायत संस्कृति, बाजागाजा संरक्षणमा महत्वपूर्ण योगदान दिनुभएका डेढ सय जना परम्परागत बाजागाजाका गुरुहरुलाई पनि सम्मान गरिएको थियो ।