उच्च सतर्कतामा हेटौंडा अस्पताल, शंकास्पद् बिरामीका लागि छुट्टै उपचार कक्ष


न्युज अफ नेपाल, हेटौंडा ।

चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि हेटौंडा अस्पतालले उच्च सतर्कता अपनाउने भएको छ । अस्पतालले शंकास्पद् बिरामी आए उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार गर्ने भएको हो । बिरामीको चाप हुने अस्पतालमा तीन वटा कोठाको एक कक्ष खडा गरी सेवा शुरु गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रवीण श्रेष्ठले जानकारी गराउनुभयो । अस्पतालले नयाँ भवनको ओपीडी कक्षमा उपचार कक्ष खडा गर्ने तयारी गरेको डा. श्रेष्ठले बताउनुभयो ।

उक्त भवनका कोठामा यसअघि चमेनागृह सञ्चालनमा ल्याउने भनिएको थियो । कोरोना भाइरसको महामारी फैलिएको जानकारी आएपछि उच्च सतर्कता अपनाएर चमेनागृहको कार्य रोकी शंकास्पद् बिरामी आए उक्त कक्षमा राख्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।उक्त कक्षको जिम्मेवारी फिजिसियनले लिने श्रेष्ठको भनाइ छ । परीक्षणबाट कुनै बिरामीमा कोरोना भाइरसको संक्रमणको आशंका भए नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइने छ । हालसम्म अस्पतालमा कोरोना भाइरसका शंकास्पद् बिरामी आएका छैनन् ।

बिरामी र सर्वसाधारणका लागि कोरोना भाइरससम्बन्धी चेतनामूलक कार्य सुरु गरिने उहाँले बताउनुभयो । नियमितरुपमा साबुनपानीले हात धुने, फ्लुजस्तो लक्षण देखिए चिकित्सकसँग परामर्श लिने, बन्यजन्तु तथा घरपालुवा पशुपक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहनेजस्ता काम गरे कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने डा. श्रेष्ठले जानकारी गराउनुभयो । अस्पतालले त्यहाँ कार्यरत् चिकित्सक एवम् स्वास्थ्यकर्मीका लागि कोरोना भाइरससम्बन्धी विशेष प्रशिक्षण एवम् अन्तत्र्रिmया गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

हेटौंडा अस्पतालमा मकवानपुरसहित तराईका जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । अस्पतालमा वर्षेनी ६० देखि ८० हजार बिरामीले सेवा लिने गरेका छन् । खोक्दा वा हाच्छ्युँ गर्दा नाकमुख छोप्ने, लक्षण देखाउने जोकोहीको सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएरमात्र खान डा. श्रेष्ठले सुझाउनुभयो ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल सरकारले तीन समिति गठन गरेको छ । विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोकथामका लागि तीन वटा समिति गठन गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति, स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा निर्देशक समिति र गुणस्तरमापन तथा नियमन महाशाखा प्रमुख डा. दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको हो । सदस्यमा सबै मन्त्रालयका सचिव तथा महाशाखा प्रमुख हुनेछन् ।

समितिमा मन्त्रालयका तीनै विभागका महानिर्देशक, सबै महाशाखा निर्देशक, टेकु अस्पतालका निर्देशक, स्वास्थ्यअन्तर्गत् सबै परिषद् अध्यक्षलाई पदेन सदस्य तोकिएको छ । उच्चस्तरीय अनुगमन समितिले कोरोना रोकथामका लागि विभिन्न निकायले गरिरहेका कामको अनुगमन गर्नेछ ।