मध्यरातमा मोटरसाइकल चालकको मृत्यु, घटना शंकास्पद भएको आफन्तको भनाई

0
Shares

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरामा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार राति करिब १२ बजेतिर लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी पूर्वपश्चिम राजमार्गको गुलरा सडकखण्डमा से २ प १८५० नंं को मोटरसाइकलसँगै मृतावस्थामा भेटिनुभएको हो ।

चुहामा व्यापार गर्दै आउनुभएको चौधरी लम्कीबाट घर जाने क्रममा राति गुलरा सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

चौधरीलाई मृतावस्थामा देखेपछि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । चौधरीको मृत्युपछि उहाँका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । राति ३ बजेबाट राजमार्ग अवरुद्ध पारेपछि पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ जाने सयौँ यातायातका साधनबीच बाटोमै अलपत्र परेका छन् । शव पनि राजमार्गबाट उठाइएको छैन । मृतकका आफन्तले कुनै गाडीले ठक्कर दिएको हुनसक्ने भन्दै छानबिन र क्षतिपूर्तिको माग गरेका छन् ।