समानताका लागि विद्यालयमा प्लाष्टिकका झोला प्रयोग

0
Shares

मार्तडी । बाजुराको बडिमालिका नगरपालिका–३ रजालीको चोयाकोट माविले एकरुपता र समानताका लागि प्लाष्टिक झोला प्रयोगमा ल्याएको छ । धनी र गरिबबीचको अन्तरलाई तोडेर सबैले विद्यालयमा समान तरिकाको पोशाकसहित झोला प्रयोगमा ल्याएको निमित्त प्रधानाध्यापक धनबहादुर रावलले बताउनुभएको छ ।

कम खर्चिलो हुने, अन्य झन्झट नभई स्थानीयस्तरमै झोला उत्पादन गर्ने सकिने भएका कारणले प्लाष्टिकका झोला विद्यालयले प्रयोगमा ल्याएको रावलले बताउनुभयो । छिटो, सजिलो र प्लाष्टिकका थैला सङ्कलन गरी सोही थैलाबाट विद्यार्थीले झोला निर्माण गरी प्रयोगमा ल्याउँदा विद्यार्थीमा यसको प्रयोग गर्ने बानी बढेको छ । खासगरी चामल ल्याउन प्रयोग हुने फालिएका प्लाष्टिकका बोरा सङकलन गरी झोला तयार गरिन्छ । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाले सहजरुपमा विद्यालय पोशाकको प्रयोग गर्ने उद्देश्यसहित यस्तो गरिएको विद्यालयका प्रधानाध्यापक गोरख थापाले बताउनुभयो ।

हेर्दा राम्रो देखिनुका साथै प्लाष्टिकका झोला प्रयोगले विद्यार्थी विद्यालयमा आउने दर बढेको छ । अभिभावकलाई वार्षिकरुपमा झोलामा खर्चिने रकमले कापी, कलम र विद्यालयको पोशाक किन्न सहज हुने विद्यालय सेवा क्षेत्रभित्रका अभिभावक तथा सोही नगरपालिका–३ रजालीका वडाध्यक्ष वीरबहादुर रावलले बताउनुभयो ।

अभिभावकलाई आर्थिक बचत हुने भएका कारण झोला प्रयोग गरिएको हो । कूल ३०० विद्यार्थी अध्ययनरत उक्त विद्यालय हाल कक्षा १० सम्म सञ्चालित छ । नगरभरिमै पहिलो सामुदायिक विद्यालयका रुपमा चोयाकोट माविले प्लाष्टिकका झोला प्रयोगमा ल्याएको हो ।

सामुदायिक विद्यालयमा सरसफाइ सूचक पूरा छैनन्

यहाँस्थित बडिमालिका नगरपालिकामा रहेका सबै विद्यालयमा सरसफाइ सूचक पूरा नभएको पाइएको छ । नगरपालिकाभरिका २५ सामुदायिक र तीन निजी गरी २८ विद्यालयमा कुनै पनि सरसफाइ तथा स्वच्छताका मापदण्ड पूरा नभएको पाइएको हो । युनिसेफका अनुसार विद्यालयले सरसफाइ तथा स्वच्छताका मापदण्ड पूरा गर्न तीन वटा तारा प्राप्त गरेको हुनुपर्छ । तर, बडिमालिका नगरपालिकामा रहेका सामुदायिक विद्यालयले पहिलो तारासम्म पनि प्राप्त गर्न नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

युनिसेफले सरसफाइ तथा स्वच्छताका मापदण्ड पूरा गर्नको लागि खानेपानी पिउन, हात धुन र सरसफाइ गर्नको लागि सुधारिएको स्रोतबाट सबैलाई सुलभरुपमा पानीको उपलब्धता भए पहिलो सूचक पूरा भएको मानेको छ । यो सूचक पनि मुस्किलले कुनै विद्यालयमा भेटिए पनि धेरैमा नरहेको पाइएको हो ।

त्यस्तै विद्यालयमा पिउनको लागि शुद्धीकरण गरिएको पानीको व्यवस्था भएको साथै वर्षमा कम्तीमा दुवै पटक पानीको गुणस्तर परीक्षण गरी सुधार गरिए दोस्रो तारा प्राप्त हुने भनेको छ । दोस्रो तारा कुनै पनि विद्यालयले प्राप्त गर्न नसकेको बाल मन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक सुशीला बुढ्थापाले बताउनुभयो । सरसफाइ तथा स्वच्छताका मापदण्ड पूरा गर्न विद्यालयलाई कतैबाट आर्थिक सयहोग नआउने उहाँको भनाइ थियो ।

खानेपानीकै कुरा गर्दा तेस्रो तारा पूरा गर्नको लागि सबै बालबालिकाको पहुँचसहितको पिउन र सरसफाइका लागि सुरक्षित र पर्याप्त पानीको उपलब्धता भएको हुनुपर्ने युनिसेफको सर्वेक्षणले देखाएको छ । सरसफाइ तथा स्वच्छताका मापदण्ड पूरा गर्न बडिमालिका मात्र नभएर जिल्लाका सबैजसो विद्यालयले पहिलो तारासम्म पनि प्राप्त गर्न नसकेको युनिसेफ जिल्ला संयोजक मोहनराज जैशीले बताउनुभएको छ ।

उहाँले खानेपानी मात्र नभई शौचालय, सफा स्वच्छ र हरियाली वातारण, खानाको स्वच्छता, स्वच्छताको सुविधा र स्वच्छताको शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्थापन र दिगोपना, विपद् जोखिम व्यवस्थापन र अनुगमन तथा जवाफदेहिता मूल्याङ्कन गर्दा कुनैमा पनि मापदण्ड पूरा नभएको पाइएको बताउनुभएको छ ।

तीनवटै तारा प्राप्त गर्न समान शिक्षा, समान अवसर, अपाङ्गता भएका बालबालिकाको पहँुच, पर्याप्त तालीम र सीपयुक्त जनशक्तिको पर्याप्तता हुनुपर्ने यनिसेफ सरसफाइ तथा स्वच्छता कार्यक्रम अधिकृत कटक रोकायाले बताउनुभयो । त्यस्तै प्रारम्भिक कक्षा सिकाइ मातृभाषाको प्रयोग बहुकक्षा बहुस्तर शिक्षण, पहिचान र प्रमाणीकरण भएको हुनुपर्ने युनिसेफका शिक्षा अधिकृत इन्द्रप्रसाद गुप्ताले बताउनुभएको छ ।

यी सबै सूचक पूरा गर्ने क्रममा अपाङ्गता भएका बालबालिकाको सहभागिता हुने गरी मापदण्ड बनाउन सकेमात्र समाज शिक्षा प्राप्त हुने सिबीएमका राजेश मरासिनीले बताउनुभयो । यी सूचक पूरा गर्नको अपाङ्गगता भएका बालबालिकाको सहभागिता हुने गरी नगरपालिकाले कार्यदल बनाएर मापदण्ड निर्माण गर्ने नगर कार्यवाहक प्रमुख रामबहादुर कार्कीले बताउनुभयो ।