पर्वतमा पहिलो लगानी बहस सम्पन्न

0
Shares

न्युज अफ नेपाल, पर्वत । 

पर्वत जिल्लामा नयाँ ब्यबसायिक लगानीका क्षेत्रको खोजी गर्न पहिलो पटक लगानी बहस कार्यक्रम आयोजना गरिने भएको छ ।
पर्वत उद्योग बाणिज्य संघको आयोजनामा माघ १६ गते बिहीबार लगानी बहस कार्यक्रम आयोजना गरिएको हो ।

पछिल्लो समयमा साहसिक पर्यटनको गन्तब्य बन्दै गएको पर्वतमा थप लगानीका क्षेत्रहरुको खोजी र लगानीको सुनिश्चिता गर्न बहस कार्यक्रम आयोजना गरिएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । पर्वतमा खानी उद्योग सञ्चालन, पर्यटन उद्योग, तथा कृषिजन्य उद्योग तथा जलबिद्युतका क्षेत्रमा नयाँ लगानी भित्र्याउने उद्देश्य राखिएको छ ।

लगानी बहस कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक तथा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष सुरज बैध, पुर्व अध्यक्षहरु बिनोदबहादुर श्रेष्ठ तथा कुशकुमार जोशी र प्रतिष्ठित ब्यबसायी शेखर गोल्छाले भाग लिने कार्यक्रम रहेको कार्यक्रमको संयोजन गरिरहनुभएका पर्वत उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिनुभयो ।

 

बहस कार्यक्रममा पर्वतको फलामखानी उत्खनन र माटेमा रहेको स्टेल ढुंगाखानी, कुस्माबजार र आसपास रहेका पर्यटकीय क्षेत्रमा सिसाको पुल, रक क्लाइमबिङ्ग, हेलिकप्टर, अल्ट्राईट जस्ता साहसिक पर्यटनका थप पुर्वाधार र होटल रिर्सोटमा लगानी, पर्यटकीय क्षेत्रहरुमा केवलकार बनाउने, लप्सी प्रशोधनका ठुलो उद्योग सञ्चालन गर्ने र कालीगण्डकी र मोदीखोलामा थप जलबिद्युत आयोजनाहरुको बिकासका लागि लगानीको खोजी गर्ने उद्देश्य राखिएको छ ।

पर्वत जिल्ला पोखराबाट नजिक रहेको , कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको ट्रान्जिट प्वाइन्टमा रहेका कारण उद्योगहरुको स्थापना, खानी उद्योगको सञ्चालन, पर्यटनका नयाँ नयाँ गन्तब्यको बिकास गर्न सकिने संभावना छ । पर्वतका कालञ्जर क्षेत्र, कुस्मा क्षेत्र, पञ्चासे, डहरे, महाशलिा क्षेत्र र कालीगण्डकी किनारमा धेरै पर्यटकीय संभावना भएकाले साहसिक र धार्मिक पर्यटनको बिकास गर्न सकिन्छ । यस बाहेक लागनीका अध्यक्ष क्षेत्रका बारेमा पनि बहस कार्यक्रममा छलफल हुने र लगानीको आश्वासन समेत आउने बिश्वास लिएको अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो ।