पूर्ण प्रेस स्वतन्त्रताका लागि सरकार सधैं प्रतिवद्ध छ : प्रधानमन्त्री ओली

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ण प्रेस स्वतन्त्रताका लागि सरकार सधैं प्रतिवद्ध रहेको बताएका छन् । नेपाल टेलिभिजन इटहरी च्यानलको औपचारिक सुभारम्भ गर्दै ओलीले सञ्चार माध्यम देश र जनताप्रति निष्ठावान हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘सञ्चार माध्यम देश र जनताप्रति प्रतिवद्ध र निष्ठावान पनि हुनुपर्छ, ‘अरुलाई दुख दिएर, मानहानी गरेर, तेजोबध गरेर, अरुको वैयक्तिक, पारिवारिक, सामाजिक हैसियतमा क्षति पुर्‍याएर देश समृद्ध हुने होइन ।’ सरकारले विगत दुई वर्षमा महत्वपूर्ण काम गरेको बताउदै उनले सो कुरा जनतामा सुसूचित गर्ने जिम्मेवारी सञ्चार क्षेत्रकै भएको जनाए ।

जनताप्रति आत्मविश्वास बढाउनुपर्ने कुरा उल्लेख गर्दै उनले भने, ‘यस्तो बेलामा हामीले जनतामा नराम्रो कुरा मात्र पस्किने, निराशातिर जनतालाई धकेल्ने होइन, आशावादिता जगाउने, आत्मविश्वास जगाउने काम गर्न जरुरी छ’ उनले भने ।

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको ओलीले बताए । ‘कतिले लोकतन्त्र संकुचित गर्न खोजेको, कतिले देशलाई तानाशाहीतर्फ लैजान खोजेको, कतिले प्रेसलाई अधिकारबाट सीमित गर्न खोजेको, वाक स्वतन्त्रता कुण्ठित गर्न खोजेको निरर्थक चर्चा परिचर्चा गरेका छन्’ उनले भने ‘पूर्ण प्रेस स्वतन्त्रताका लागि सधैं चिन्तित छौं । सरकार त्यसप्रति प्रतिवद्ध छ ।’

उनल भने, ‘हामीले चाहेको आधुनिक, व्यवस्थित, अनुशासित र अधिकार सम्पन्न व्यवस्था हो, एउटाको अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन’ प्रधानमन्त्री ओलीले भने ।

सरकारले सञ्चार माध्यममा कुनै प्रकारको बन्देज नलगाउने जनाएका छन् । यस्तै, संसदमा विचाराधीन सूचना प्रविधि विधेयक र मिडिया काउन्सिल विधेयक हिउँदे अधिवेशनबाट पारित गरिने ओलीले बताए ।