शहीद स्मारकमा श्रद्धाञ्जलीसभा

0
Shares

काठमाडौं, (नेस)।

लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ। बुधबार प्रधानमन्त्री केपी ओलीले स्मारकमा पुगेर शहीदहरूको सम्झना गर्नुभएको थियो।

हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई शहीद सप्ताहका रुपमा मनाइँदै आएको छ। विसं. २०१२ सालदेखि काठमाडौं महानगरको संयोजकत्वमा शहीद सप्ताह मनाउँदै आएको थियो।

मूल कार्यक्रममा यस वर्ष स्मृति मन्तव्य राखिएन। प्रधानमन्त्रीसहित उच्च अधिकारी आएर स्मृतिसभा मात्र आयोजना गरिएको थियो। गतवर्ष प्रम ओली र शहीद सप्ताह मूल समारोह समितिका संयोजक एवं काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले स्मृति मन्तव्य राख्नुभएकोे थियो।

यसवर्ष स्मृतिसभामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको सहभागी थियो।

सभामा प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक, वडाध्यक्षहरू, कार्यपालिकाका सदस्यलगायतका उपस्थिति रहेको थियो। सभाअघि शान्तिबाटिकामा भेला भई बाजागाजासहित लैनचौरसम्म प्रभातफेरि गरिएको थियो।

चार शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरूको सम्झनामा स्मरण गर्दै हरेक वर्ष माघ १६ शहीद दिवस मनाउने गरिन्छ।