‘शहीद धर्मभक्त माथेमा पार्क’ उद्घाटन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

जहाँनिया राणा शासनविरुद्धको संघर्षका क्रममा सहादत प्राप्त गर्नुभएका धर्मभक्त माथेमाको सम्झनामा ‘शहीद धर्मभक्त माथेमा पार्क’ निर्माण भएको छ।काठमाडौं महानगरपालिका २३ स्थित ओमबहालमा निर्माण भएको सो पार्कको शहीद सप्ताहको अन्तिम दिन अर्थात काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गर्नुभयो।

माथेमाको पुख्र्यौली घर रहेको ओमबहालमा उहाँको सम्झनामा पूर्ण कदको शालिकसहित करिब ६५ लाखको लगानीमा पार्क निर्माण भएको हो।शालिक अनावरणपछि सम्वोधन गर्दै मेयर शाक्यले शालिकबाटै शहीदलाई चिन्न सकियो भनेर चारै शहीद (धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाल श्रेष्ठ)को शालिक निर्माण गरेको बताउनुभयो।

‘राम्रो काम गर्ने मानिस समाजमा सधैँ जीवित रहन्छन् मेयर शाक्यले भन्नुभयो– ‘काठमाडौं महानगरपालिकाले पनि चारै जना शहीदको सम्झनामा उहाँहरूलाई मृत्युदण्ड दिएका स्थानमा चार वटा शालिक बनाएको छ। धर्मभक्तको टोलमा पनि महानगरपालिकाले उहाँको सम्झनामा पूर्णकदको शालिकसहितको पार्क निर्माण गरेको हो।’

मेयर शाक्यले शहीद धर्मभक्तकै सम्झनामा बुढानीलकण्ठ नगरपालिकाको बुढानीलकण्ठमा शहीद धर्मभक्त मानव सेवा आश्रम भवन’ निर्माण गर्ने तयारीमा महानगरपालिका रहेको बताउनुभयो। उहाँले त्यसको डिपीआर समेत तयार हुँदै गरेको बताउनुभयो।

कामपाका प्रथम उपमेयर प्रयागराज सिंह सुवालले काठमाडौँ महानगरपालिकाले सहीदको सम्झनामा प्रसंसायोग्य काम गरेको भन्दै खुशी व्यक्त गर्नुभयो। ‘धर्मभक्तको घर मेरो घर भन्दा दक्षिणतर्फ थियो।

मेरो घरबाटै उहाँको घर देखिन्थ्यो,’ उहाँले विगततिर फर्किदै भन्नुभयो–‘आज मेरै टोलमा धर्मभक्तको सम्झनामा पार्क बन्दा बढो खुशी लागेको छ। धर्मभक्तको शालिक मात्र बन्ने भन्ने कुरो थियो। अहिले पार्कसहित नै उहाँको शालिक गजधुम्म परेर मेरो टोल अघि उँभिदा गर्वले मेरो छाती ढक्क फुलेको छ।’

शहिद धर्मभक्तका भतिजा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले पनि माथेमा परिवारका लागि सबै भन्दा खुशीको पल भएको बताउनुभयो।‘हुँदै नहुनु भन्दा ढिलै भए पनि भएको राम्रो,’ उहाँले महानगरपालिकाको पहलमा पूर्णकदको शालिक निर्माण भएकोप्रति संकेत गर्दै भन्नुभयो– ‘शहीदहरूको सम्झनामा ८० वर्षपछि भए पनि यसरी शालिक बन्नु सकारात्मक संकेत हो।

महानगरपालिकालाई यो कामका लागि धन्यवाद भन्न चाहन्छु।’माथेमाले राणा विरोधी संघर्षको ‘इपीसेन्टर’ नै ओमबहाल भएको भन्दै यस्तो गौरवपूर्ण इतिहास बोकेको स्थानमा माथेमाको सम्झनामा शालिक र पार्क बनेकोमा पनि खुशी व्यक्त गर्नुभयो।

‘यहाँ सहीदको सम्झनामा पार्क मात्र बनेको छैन,’ उहाँले भन्नुभयो– ‘महानगर भित्रका खाली ठाउँको सदुपयोग गर्ने सकारात्मक प्रयास पनि भएको छ।’

सो वडाका वडाध्यक्ष मचाराजा महर्जनले पार्कसहितको शालिक निर्माण गर्न करीब ६५ लाख खर्च भएको बताउनुभयो। ‘हामीले यो पार्कलाई केही नयाँपन दिएका छौँ,’ शालिक र पार्क निर्माण गर्दा गर्दा मौलिकतालाई पनि ध्यान दिएका छौँ।’