गेलको नेपाली क्रिकेटमा आगमन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

आगामी मार्चमा कीर्तिपुरमा हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) २०२० मा खेल्न आउने विश्वका स्टार खेलाडीको क्रम बढेको छ।
पोखरा राइनोजले बिहीबार गरेको पत्रकार सम्मेलनमा टोलीमा विश्वकै उत्कृष्ट व्याटसम्यान क्रिस गेल (पूरा नाम क्रिस्टोफर हेनरी गेल) लाई आबद्ध गरेको जानकारी गरायो।

यससँगै ईपीएलको चौथो संस्करण निकै स्मरणीय बन्न गइरहेको जनाएको छ।यसअघि स्टार खेलाडी वेस्ट इन्डिजका ड्वायन स्मिथ र श्रीलंकाका उपुल थारांगा क्रमशः भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रिओट्सका लागि आबद्ध भएका थिए। 

४० वर्षीय गेललाई टोलीमा आबद्ध गर्न पाउँदा निकै उत्साहित भएको पोखरा राइनोजकी मालिक दीपा अग्रवालले बताइन्। उनले भनिन्—टी २० क्रिकेटको पर्याय व्यक्ति हाम्रो टिममा खेल्न गइरहेको भन्दा मलाई विश्वासै लागेन।

गेलको आगमनले मेरो टिमलाई मात्रै होइन लिगलाई नै सानदार बनाउने पक्का छ। हामीहरु भिजिट नेपाल २०२० मनाइरहेको अवस्थामा पुरै राष्ट्रलाई समेत उत्साहित बनाउनेछ। यी लिजेन्ड खेलाडीसँग खेल्ने नेपाली क्रिकेटरहरुले समेत केही सिक्न मौका पाउनेछन्। हामीहरू गेल उपाधिका लागि तयार छौं।

जमैकामा जन्मेका गेल विश्व क्रिकेटमा विस्फोटक व्याटसम्यानका रूपमा परिचित छन्। उनको उपस्थितले टीमको ब्याटिङ नै बलियो हुने गर्छ। उनलाई बलिङ गर्न विश्वका मै हु भन्ने बलर पनि डर लाग्ने गर्छन्।

वेस्ट इन्डिज टोलीको २००७ देखि २०१० सम्म नेतृत्व गरेका उनले तीनै वटा फरम्याटमा कीर्तिमान रचेका छन्। गेल टेस्ट खेलमा तेहेरो शतक, वानडेमा दोहोरो शतक र टी २० मा शतक प्रहार गर्ने एक मात्र व्याटसम्यान हुन्।

गेलले इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० मा समेत आफ्नो धाक जमाएका छन्। उनले सो लिगमा ३० बलमै शतक प्रहार गरेका थिए। त्यस्तै आईपीएलमा उनको व्यक्तिगत उच्चतम स्कोर १ सय ७५ नटआउट हो। उनले वानडे अन्तर्राष्ट्रियमा १० हजार रन पनि पुरा गरेका छन्।