एनआरटीको लगातार राम्रो प्रदर्शन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

शहीद स्मारक ए डिभिजन लिगको गत संस्करणमा पुछारमा परेर २ अङ्क गुमाउनु परेको न्युरोड टिम (एनआरटी) ले यस सिजनमा लगातार राम्रो प्रदर्शन गरिरहेको छ।

बिहीबार दशरथ रंगशालामा भएको खेलमा एनआरटीले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई २–० गोलअन्तरले हराएको हो। नवौं चरणसम्मको खेल समाप्ति हुँदा एनआरटीले ५ जित २ बराबरी र २ हारसँगै १५ अंक जोडेको छ। टोलीको जितमा दुबै गोल राजेश परियारले गरेका हुन्। उनले पहिलो र दोस्रो हाफमा एक–एक गोल गरेका थिए।

वास्तवमा एनआरटीको १७ अंक हुनु पर्ने हो, तर गत सिजनमा रेलिगेसनविनाको लिग भएको थियो। सो लिगमा एनआरटी पुछारमा परेको थियो। सो लिगमा पुछारमा हुनेलाई २ अंक र १३ औं स्थानमा रहने टोलीलाई १ अंक काट्ने प्रावधान राखेको थियो।

एनआरटीले सो वापत जारी लिगमा माइनस २ अंकबाट खेलेको छ। हाल लगातार राम्रो नतिजा निकाल्दै टोली चौथो स्थानमा उक्लिएको छ। यस स्थितिमा टोलीलाई त्यो २ अंकले पछुतो पनि पारेको छ।

यसअघिको खेलमा फ्रेन्डस् क्लबले ललितपुरकै च्यासल युवा क्लबलाई १–० ले निराश पारेको थियो। टोलीको जितमा उत्तम राईले निर्णायक गोल गरेका थिए। उनले खेल सकिन ६ मिनेटको समयलाई सदुपयोग गरेपछि फ्रेन्डस्ले शीर्ष १० मा स्थान बनायो। टोली ११ अङ्कसहित नवौं स्थानमा रहँदा पराजित दुई टोली च्यासल र बीबीसी क्रमशः १०औं र ११ औं स्थानमा रहेका छन्।