चेक कीर्ते गर्ने पक्राउ


काठमाडौं, (नेस)।

चेक कीर्ते गरी ठगी गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर काठमाडौले पक्राउ गरेको छ। चेकमा रकम कीर्ते गरी पैसा झिकेको अभियोगमा भोजपुर षडानन्द गाउँपालिका ११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरेलाई नियन्त्रणमा लिएको परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो।

सामुदायिक आवास व्यवस्थापन समाज ताहाचलको कार्यालय सचिव समेत रहेका घिमिरेले ६७ हजार ९ सय १६ रुपियाँको चेक रकमलाई २० लाख ६७ हजार ९ सय १६ रुपियाँ बनाई कीर्ते गरेर रकम झिकेका थिए।

उनले ६७ हजारको चेक रकम अगाडि २० लाख थपेर रकम झिकेको पाइएको डिएसपी बोगटीले जानकारी दिनुभयो। उहाँका अनुसार चेकको रकम लेख्ने अगाडि भागमा थप रकम लेखेर पैसा झिकेको देखिन्छ। डीएसपी बोगटीले भन्नुभयो– ‘उनलाई बैंकमा कार्यालयको नाममा कति रकम थियो भन्ने जानकारी भएको देखियो।’