कोरोना भाइरस समस्यामाथि डब्ल्यूएचओको बैठक मृतकको संख्या बढ्दै

0
Shares

बेइजिङ, (एजेन्सी)।

चीनबाट संसारभरि फैलिरहेको नोबेल कोरोना भाइरस विश्वका ७ हजार ८ सय ९२ जना व्यक्तिमा संक्रमित भइसकेका छन्। तीमध्ये ७ हजार ७ सय ७१ जना त चीनमा मात्रै रहेका छन्। त्यसैगरी संदिग्ध व्यक्तिको संख्या १२ हजार १ सय ६७ बताइएको छ।

डाक्टरहरूका अनुसार संक्रमित हरेक पाँचमध्ये एक व्यक्तिमा गम्भीर निमोनियाका लक्षण देखिएको छ। साथै विभिन्न सामाजिक सञ्जालमार्फत चमेराको सुप खाएको कारण कोरोना भाइरस देखिएको भनी सुप खाँदै गरेकी एक युवतीको तस्वीर केही दिनदेखि भाइरल भइरहेको छ।

तर वैज्ञानिकहरूले सर्पमा पाइने प्रोटिन कोड कोरोना भाइरस संक्रमितमा भेटिएकाले सर्पबाट चमेरोमा सोे भाइरस सरेको हुनुपर्ने अनुमान गरेका छन्।

यो भाइरसको संक्रमणका कारण बुधबारसम्म चीनमा मृतकको संख्या १ सय ७० पुगेको छ। बिहीबार कोरोना भाइरस संक्रमणको कारण विश्वमा स्वास्थ्य संकटकाल स्थिति लागू गर्ने वा नगर्ने भन्ने विषयमा विश्वस्वास्थ संगठन (डब्ल्यूएचओ ) को विशेष बैठक बस्न लागेको छ।

अघिल्लो दिन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एधानोम गेव्राइससले केही दिन यता विश्वका केही मुलुकमा भाइरसको सन्त्रास निकै बढेको तथा यो भाइरस मानवबाट मानवमा सर्ने भएकाले पनि निकै चिन्ताको विषय बनेको प्रतिक्रिया दिएका थिए। उनले चीनबाट फर्केका व्यक्तिहरूमा जापान , भियतनाम र जर्मनीमा संक्रमण देखिएको जानकारी दिएका थिए।

यसै खतरालाई ध्यानमा राखेर बेलायत, अस्ट्रेलिया, दक्षिण कोरिया , सिंगापुर र न्युजिल्यान्डले चीनबाट स्वदेश फर्केका र फर्काइएका आफ्ना नागरिकलाई विशेष निगरानी अर्थात क्वारेन्टाइन गर्ने निर्णय गरिसकेका छन्।

चीनका राष्ट्रपति सी जिनपिङले कोरोना भाइरसबाट मानिसहरूलाई बचाउन र तिनीहरूको मद्दतका लागि चिनियाँ सेना तैनाथ गर्न आदेश दिएका छन्।

उत्तर कोरियाले विश्वभरि सन्त्रास फैलाइरहेको प्राणघातक कोरोना भाइरस संक्रमण रोक्नका लागि चीनबाट भाइरस आउन नदिन पर्यटकहरूलाई रोक्ने, उडान कटौती गर्ने तथा थप स्वास्थ्य परीक्षणजस्ता कार्यहरू तदारुकताका साथ भइरहेको बिहीबार बताएको छ।

उत्तर कोरियाको स्वास्थ्य मन्त्रालयका निर्देशक किम जोङ उनले अन्तर्राष्ट्रिय समाचार निकाय दी एसोसियटिड प्रेसलाई यसबारे जानकारी दिएका हुन्। प्योङयाङका सडकहरूमा बालबालिकालगायत अन्य बटुवाहरू मास्क लगाएर हिंडिरहेको देखिन्छन्।