आकाश र पूजालाई मन परेसी

0
Shares

नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माले भद्रकाली मन्दिरमा स्क्रिप्ट पूजा गर्दै मन परेसी नामक फिल्मको शुभमुहूर्त गरेका छन्। श्रीपञ्चमीको अवसर पारेर फिल्मको मुहूर्त गरिएको हो।

मुहूर्तमा अभिनेताद्वय आकाश श्रेष्ठ र रवीन्द्र झा, नायिका पूजा शर्मा, डेब्यु अनुहार मोनालिसा खतिवडा, प्रस्तुतकर्ता रघु परियार, लेखक तथा निर्देशक रूपेश थिङ तामाङलगायत सहभागी थिए। रामकहानीबाट शुरू भएको पूजा र आकाशको जोडी पोइ पर्यो काले, सम्हालिन्छ कहिले मन र सम्झना बिर्सना हुँदै मन परेसीसम्म देखिन लागेको हो।

जय शम्भुका निर्देशक रूपेश थिङ तामाङले निर्देशन गर्ने फिल्ममा आकाश र पूजासँगै बुद्धि तामाङ, रवीन्द्र झा, शिशिर राणा, किरण श्रेष्ठ, लक्ष्मण श्रेष्ठलगायतले अभिनय गर्नेछन्।

अमृत थिङ तामाङ फिल्मको कार्यकारी निर्माता र दिनेश शाही र चक्र पाख्रिन तामाङ निर्माता रहेको फिल्ममा भुवनराज जोशी, कृष्ण परियार, ज्ञानुप्रसाद खनाल र प्रेमबहादुर घर्ती सहनिर्मातामा रहेका छन्।

फिल्मको कथा निर्देशक तामाङ आफैले लेखेका छन् भने उनलाई संवादमा संजोग राणाले सघाएका छन्। हरि घले लामाले खिच्ने फिल्ममा राजु तामाङको द्वन्द्व तथा रामजी लामिछाने र रवीन शाहको कोरियोग्राफी रहनेछ।

अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने, श्रीकृष्ण बर्देवाले फिल्मको गीतमा संगीत भर्ने फिल्म लभस्टोरी र एक्सन जनरामा निर्माण हुनेछ। पर्सि आइतबारबाट छायांकन शुरू हुने फिल्म अर्को वर्षको तीजमा प्रदर्शन गर्ने घोषणा गरिएको छ। मेडिया एन्ड मुभिज प्रालि र जुना फिल्म्सको संयुक्त ब्यानरमा निर्माण फिल्मको छायांकन सेड्युल ४० दिनको राखिएको छ।