श्रीपञ्चमी मेलाः लेले कुण्डमा श्रद्धालुको घुँईचो


न्युज अफ नेपाल, ललितपुर ।

ऐतिहासिक र पुरातात्विक कुण्डको रुपमा रहेको लेलेको सरस्वती कुण्डमा श्रद्धालु भक्तजनहरुको घुँईचो लागेको छ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’का अवसरमा यहाँ भक्तजनहरुको विशेष घुँईचो लागेको हो ।

प्रत्येक वर्ष आजकै दिन लेलेको सरस्वती कुण्डसहित देशभरको सरस्वती मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । लेलेको सरस्वती कुण्डको बारेमा श्रीस्वस्थानीमा पनि बयान गरेको हुनाले विशेष शक्ति पिठको रुपमा लिईएको छ । त्यसकारण मेलामा श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गरेको ज्ञान कुण्ड युवा क्लवका उपाध्यक्ष निकेश श्रेष्ठले जानकारी दिनुभयो ।

विद्या र सिर्जनाकी देवी तथा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरेमा ज्ञानी भई समाजको सेवागर्न सकिने विश्वास छ । सरस्वती कुण्डलाई विशेष धामको रुपमा विकास गर्दै अगाडि बढाउने योजना ल्याउन लागिएको गोदावरी नगरपालिकावडा–५का वडा अध्यक्ष मिलन सिलवालले बताउनुभयो ।

यहाँ रहेको कुण्डको जल सेवनगर्दा गराउँदा नबोल्ने बालबालिकाको बोली फुट्ने, पढाईमा सुधार हुने मान्यता छ । साथै यहाँको जललाई खेत बारीमा र फलफूल तरकारीमा छर्किदिँदा राम्रो हुने विश्वास लिईन्छ ।

विशेषगरी विद्यार्थीलाई आजको दिनअक्षर आरम्भ गराइन्छ भने विवाह, ब्रतबन्धलगायत शुभकार्य गर्नका लागि आजको दिन साइत हेर्न नपर्ने हिन्दू धर्मावलम्बीको विश्वास छ ।

मेलालाई व्यवस्थित गर्दै श्रद्धालु भक्तजनलाई सहज तरिकाले दर्शन गर्न गराउन ज्ञान कुन्ड युवा क्लबले नेतृत्व गरेको छ । जस्का लागि क्लबले आफ्ना सदस्यहरु सहित स्थानीय विद्यालयका विद्यार्थीहरुलाई स्वयंसेवकको रुपमा परिचालनको व्यवस्था मिलाईएको छ। क्लबले अपांग र अशक्त भक्तजनहरुका लागि छिटो र सहज तरिकाले दर्शन गराउनका लागि छुट्टै व्यवस्था समेत गरेको थियो ।