भैरहवा–तौलिहवा सडक समयमा निर्माण सम्पन्न नहुदाँ राज्यलाई थपियोे २४ करोड व्ययभार


यमलाल भुसाल, बुटवल ।
सरकारले समयमा आयोजना सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्ने घोषणा गरि रहेको समयमा रुपन्देहीमा समयमा काम नगर्ने आयोजनाको निर्माण कम्पनीलाई समय संगै लागत रकम बढाएर पुरस्कृत गरिएको छ । समयमा काम सम्पन्न नगदाँ राज्यलाई थप पौने २४ करोड रुयैयाँ व्ययभार थपिएको छ ।

रुपन्देहीको बहुचर्चित आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडकको समयमा काम सम्पन्न हुन नसक्दाँ राज्यलाई थप व्ययभार पनि बढेको छ । आयोजना कहिले सम्पन्न हुने भन्ने अझै टुंगो पनि छैन । सडक निर्माणको सम्झौता अवधि गत पुस २७ मा सकिएपनि सडक निर्माण करिव ६० प्रतिशत मात्रै पूरा भएको आयोजनाले जनाएको छ ।

लागत थप भएपछि सडक निर्माणको लागि दुई अर्व १६ करोड ८५ लाख रुपियाँ पुग्ने भएको छ । स्तरोन्नती भइरहेको यो सडक साढे दुई वर्षमा सक्नेगरी २०७४ असार २५ मा सम्झौता भएको थियो । आयोजनाको सुरुको लागत एक अर्ब ९३ करोड छ लाख ३६ हजार दुई सय २७ रुपैयाँ भए पनि दुई पटकको कामको अन्तरपछि लागत बढेर दुई अर्ब १६ करोड ८५ लाख पुगेको हो ।

निर्माण कम्पनीको माग, कन्सल्टेन्टको रिपोर्ट र आयोजनाको निरीक्षणमा २३ करोड ७८ लाख भेरिएसन रकम आयोजना निर्देशनालयको सिफारिसमा स्वीकृत गरी थपिएको हो । कुल लागत रकमकोे १२ दशमलव ३ प्रतिशत भेरिएसन भएको छ । सम्झौता अवधि यही पुस २७ मा सकिएपनि सडक निर्माण करिव ६० प्रतिशत मात्रै पूरा भएको छ । तौलिहवातर्फ केही किलोमिटर कालोपत्रे गरिए पनि बाँकी सडकमा निर्माण जारी छ । निर्माणाधीन अवस्थामा रहेका दुईवटा पुल समेत अलपत्र अवस्थामा छन् । पुल निर्माणका लागि अहिले बल्ल संभाव्यता अध्ययन हुँदै छ ।

समयमा निर्माण नसकिएपछि भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजनाले चार महिना म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको छ । आयोजनाका सूचना अधिकारी इन्जिनियर सागर पोखरेलका अनुसार कन्सल्टेन्टको प्रतिवेदनका आधारमा म्याद थपको प्रक्रिया अघि बढाइएको हो । राष्ट्रिय प्राथमिकतामा परेको यो आयोजनाको काम गावर कन्स्ट्रक्सन लिमिटेड गुणगाँव भारतले गरिरहेको छ । निर्माण कम्पनीले १५ महिनाको थप समय मागेकोमा आयोजनाले चार महिनाका लागि समय थप्ने प्रक्रिया अघि बढाएको हो ।

सडक निर्माणमा भएको ढिलासुस्तीले प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारकोे नेपाल भ्रमण वर्ष २०२० लाई पनि प्रत्यक्ष असर गरेकोे सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताउनुभयो ।

समयमै नसकिनु र डिजाइनमा परिवर्तन भएकाले पनि सडक निर्माणको लागि २३ करोड भन्दा बढी थपिएको इन्जिनियर पोखरेलले बताउनुभयो । निर्माण कम्पनीले अहिलेसम्म ४५ प्रतिशत भुक्तानी पाएको छ । पहिलो पटक कलभर्ट र दुई लेन सडकको बजार क्षेत्रमा स्थानीयको मागअनुसार चार लेन बनाएकाले १६ करोड थप गरेको छ भने दोस्रो पटक दुर्घटना न्यूनीकरणका लागि नयाँ जक्सन डिजाइनसहितको संरचना र त्रुटिरहित डिजाइन परिवर्तन गरेकाले काममा भेरिएसन भएपछि सात करोड बढी थपेको हो ।

निर्माणाधीन सडकमा ८५ दशमलव ५ प्रतिशत एडीबीको ऋण लगानी छ भने बाँकी १५ दशमलव ५ प्रतिशत लगानी नेपाल सरकारले गरेको छ ।