कलैयालाई सुमार्गी टी–२० कप


न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा एकेडेमीको प्रायोजनमा हेटौंडाको लोकतान्त्रिक हुप्रचौरमा भएको छैटौं माधवराज सुमार्गी टी–२० क्रिकेट कपअन्तर्गत् कलैया क्रिकेट क्लब यस वर्षको विजेता भएको छ ।

प्रतियोगिताअन्तर्गत् शनिबार भएको फाइनलमा कलैयाले वीरगञ्ज युनाइटेडलाई २५ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको कलैयाले वीरगञ्जलाई १ सय ५४ रनको विजय लक्ष्य दिएको थियो । तर, बीरगञ्ज १ सय २८ रनमै अलआउट हुन पुगेको थियो ।

खेलको म्यान अफ दी म्याच कलैयाका रवि शाह भए । प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान चितवन क्रिकेट क्लबका साकार ढकाल भए । उत्कृष्ट बलर बीरगञ्ज युनाइटेडका सैदुल्लाह अन्सारी भए भने म्यान अफ दी सिरिज कलैयाका कुमार थापा भए ।

प्रतियोगिताको विजेता कलैयाले नगद ४० हजार तथा शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेता बीरगञ्ज युनाइटेड टिमले २० हजार नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको आयोजक मकवानपुर क्रिकेट संघले जनाएको छ ।