सर्वोच्चद्वारा अख्तियारलाई भ्रष्टाचार मुद्दाको फाइल पेश गर्न आदेश


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल आयाल निगमका महानिर्देशक युवराज शर्माको भ्रष्टाचार मुद्दासँग सम्बन्धित कागजात पटक–पटक तोकता गर्न पनि उपलब्ध नगराएको भन्दै उपस्थिति हुन आदेश दिएको छ । सर्वोच्च अदालतले कडा चेतावनीसहित अख्यितार दुरुपयोग अनुसन्धान आयोगका सचिवलाई १५ दिनभित्र आफैँ उपस्थित भएर पेश गर्न आदेश दिएको हो।

सर्वोच्चले यसअघि २०७५ कात्तिक ८ गते र २०७५ फागुन २३ गते शर्माविरुद्ध मुद्दा चलाउने आयोगको सक्कल निर्णय पेश गर्न आदेश दिएको थियो। जवाफमा आयोगले ‘फेला नपरेको’ भन्दै पत्र काटेको थियो।

न्यायाधीश मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासले दिएको आदेशमा भनिएको छ, ‘निर्णय कागज फेला नपरेको भनी जवाफ पठाएको देखियो। यसलाई जवाफदेहीतापूर्ण काम कारबाही मान्न मिल्ने देखिएन। सामान्य प्राविधिक कारण देखाइ अदालतबाट माग गरिएका मुद्दासँग सम्बन्धित अभिलेख पेश गर्न आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्तिलाई उचित ठान्न सकिँदैन।’

विशेष अदालतले शर्मालाई भ्रष्टाचारी ठहर गरेपछि उनले २०७२ जेठ २ गते सर्वोच्च पुनरावेदन दिएका थिए।

आदेशमा भनिएको छ, ‘अख्तियारका सचिव स्वयम् निर्णय फाइल अभिलेख लिइ इजलास समक्ष अनिवार्य रुपमा उपस्थित हुनु।’

चार वर्षको अविधिमा २४ पटक मुद्दाको पेशी तोकिए पनि फैसला हुन सकेको छैन।