पर्वतमा अझै हात्तिपाईलेको उच्च जोखिम, ११औं पटक औषधी खुवाईंदै


न्युज अफ नेपाल, पर्वत ।

नेपालका धेरै जिल्लामा हात्तिपाइले रोग बिरुद्धको अभियान सफल भैसकेपनि पर्वतमा भने अझैपनि हात्तिपाईले रोगको उच्च जोखिममा रहेको पाइएको छ । पर्वतमा सन् २०१० देखि नियमित रुपमा १० पटक आमरुपमा औषधी खुवाउने कार्यक्रम सकिएपनि जिल्लामा हात्तीपाइले रोगको उच्च जोखिम कायमै रहेको पाइएको हो ।

हात्तिपाइलेको जोखिम कायमै रहेको पाइएकाले आगामी माघ २५ गते ११ औं चरणको कार्यक्रम पर्वतमा संचालन हुने भएको छ । दशौं चरणसम्म अभियान संचालन गर्दा पनि हात्तिपाईले संक्रमितको संख्या १ प्रतिशत भन्दा तल नझरेपछि पुनः ११ औं पटक अभियान संचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जानकारुी दिएको छ ।

पर्वतमा अझैपनि हात्तिपाईले रोगको संक्रमण भएका २ दशमलब ९५ प्रतिशत जनसंख्या रहेकाले ११ औं पटक अभियान संचालन गर्नुपरेको कार्यालय प्रमुख डा. भोजराज गौतमले बताउनुभयो । सन २०१८ मा पर्वतका खानीगाउँ र पाङ्गमा गरिएको नमुना परिक्षणका क्रममा खानीगाउँमा ० दशमलब ६७ र पाङ्गमा २ दशमलब ९५ प्रतिशत ब्यक्तिमा हात्तीपाइलेको जीबाणु भेटिएको थियो ।

यी वडाहरुमा सन २००१ मा गरिएको बेसलाईन सर्बेक्षणमा ४ दशमलब ८३ प्रतिशतमा हात्तीपाईलेको जीबाणु भेटिएको थियो । त्यसयता खानीगाउँमा घटेपनि पाङ्गमा भने समस्या देखिदै आएको छ । पर्वतमा औषधी घरमा लैजाने तर सेवन नगर्ने परम्परा रहेका कारण हात्तीपाइले रोग निवारण प्रभावकारी हुन नसकेको स्वास्थ्य कार्यालय प्रमुख डा. गौतमले बताउनु भयो ।

उहाँले भन्नुभयाे- ‘यसपटक कागजको पोकोमा औषधी घरमा लैजाने कुरा बन्द गरर स्वास्थ्यकर्मीले प्रत्यक्ष निगरानीमै खुवाउने ब्यबस्था मिलाएका छौ’ । पर्वत सहित देशका १३ जिल्लामा माघ २५ गते सामुहिक रुपमा औषधी खुवाउने कार्यक्रम रहेको छ ।

पर्वतमा २ बर्ष भन्दा कम उमेरका तथा गर्भवती महिला छाडेर जिल्लाको कुल जनसंख्या मध्ये १ लाख ५ हजार ५ सय १६ जनालाई औषधी सेवन गराउने अभियानको लक्ष्य रहेको कार्यालय प्रमुख डा. भोजराज गौतमले जानकारी दिनुभयो ।
अभियानका लागि जिल्लाका सबै स्वास्थ्यकर्मी र स्वयंसेविकालाई परिचालन गर्ने तयारी भएको छ ।

स्वास्थ्यकर्मीले घरमै पुगेर आँखा अगाडी औषधी खुवाउने र स्वयमसेविकाले सहयोग गर्ने कार्यक्रम छ । घरमा लैजादा औषधी नखाने, जाने बुझेकाले समेत औषधी खान नमान्दा सबैले पटकपटक औषधी खानुपर्ने बाध्यता छ । यस पटक सबैजनाले औषधी खाने कार्यक्रम सफल बनाउन सकेमा आगामी बर्ष देखि औषधी सेवन गर्नु नपर्ने भएका कारणपनि सबैले औषधी खान र त्यसले कुनै हानी तथा असर नपुर्याउने हुँदा ढुक्क हुन डा. गौतमले आग्रह गर्नुभयो ।