एनआरटी र फ्रेन्डस्को जित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत् बिहीबार भएका खेलमा न्यूरोड टिम (एनआरटी) र फ्रेन्डस् क्लबले जित हात पारेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा एनआरटीले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई २–० ले हरायो भने फ्रेन्डस्ले च्यासल युवा क्लबलाई १–० ले पराजित गरेको हो । जितसँगैं एनआरटी ९ खेलमा १५ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । त्यस्तै फ्रेन्डस्ले ९ खेलमा ११ अंक जोडेर नवौं स्थान हासिल गरेको छ ।

एनआरटीको जितमा दुबै गोल राजेश परियारले गरेका हुन् । उनले ३२औं मिनेटमा दर्शन गुरुङको सहयोगमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै उनले ५२औं मिनेटमा श्याम बाबुको पासमा अर्को गोल गरेका हुन् । बीबीसीले बाँकी समयमा गोल गर्न नसक्दा ८ अंकमै अडकिएको छ ।

त्यस्तै अर्को खेलमा फ्रेन्डस्को जितमा उत्तम राईले निर्णायक गोल गरेका हुन् । ८४औं मिनेटमा विश्व अधिकारीले गरेको फ्रिकिक प्रहारलाई च्यासलका गोलकिपरले पन्च गरे । तर बल रिबाउन्ड हुँदा उत्तमले त्यसको सदुपयोग गरेर टोलीको जित सुनिश्चित गरेका हुन् । योसँगै च्यासलको ९ अंकमै सीमित भएको छ । दशौं चरणको खेल शनिबारदेखि शुरु हुनेछ ।