अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि महायज्ञ


न्युज अफ नेपाल, चितवन ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा महायज्ञ सञ्चालन हुन लागेको छ । चितवनमा बन्न लागेको क्रिकेट रंगशालाका लागि रकम जुटाउन धुर्मुश सुन्तली फाउण्डेसनले महायज्ञ गर्ने भएको हो।

भरतपूर महानगरपालिका–१५, स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यही माघ १९ देखि २६ गतेसम्म वाचन प्रवीण पं. दीनबन्धु पोखरेलको प्रमुख वाचकत्वमा विराट धनधान्याचल महोत्सव आयोजना हुन लागेको हो।

करिब ३ अर्बको लागत लाग्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि देश भित्र र बाहिर रहेका नेपालीहरुले सहयोग गरिरहेका छन्। निर्माणधिन यस रंगशालामा ३० हजार दर्शकले खेल हेर्नसक्ने प्याराफिट सहितको क्रिकेट स्टेडियम, प्याराफिट सहितको फुटवल स्टेडियम तथा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको ईन्डोर पौडी पोखरी बन्नेछ। यसैगरी मार्सल आर्टस्, व्याटमिन्टन, भलिवल, वास्केटवल लगायत २२ विभिन्न विधाका खेल खेल्न सकिने यो रंगाशाला अन्तर्राष्ट्रिय स्तरको हुनेछ।