सत्य निरुपण आयोग राजनीतिक भागवण्डामा गठन हुनु दुर्भाग्यपूर्ण : थापा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘सहिदका सपना साकार पार्ने’ भनेर सरकारी दस्तावेजहरुमा ठुल्ठुला अक्षरले लेखिएतापनि कार्यान्वयन त्यसको ठिक विपरित हुने परिपाटीले सहिदहरुको उचित सम्मान हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

देश र जनताको निमित्त साहदत प्राप्त गरेका विर सहिदहरुको सम्मान र परिवारको संरक्षणमा राज्यपक्षले यथोचित ध्यान नदिएकोप्रति आपत्ती प्रकट गर्दै अध्यक्ष थापाले परिवारजन गुमाउनुको पिडा शब्दमा व्यक्त गर्न नसकिने भन्दै सहिदका परिवारजनप्रति सहानुभुति तथा समवेदना प्रकट गर्नु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सहिदहरुको सम्झनामा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यो अवस्थाको अन्त्य गर्न सबै जनता जागरुक हुनुपर्ने समय आएको समेत उल्लेख गर्नु भएको थियो । जनताले अब पार्टीको रैती होइन, स्वाभीमानी राष्ट्रवादी नेपाली भएर सोच्दै आफ्नो विवेकको प्रयोग गर्ने अवस्था निर्माण भएमा मात्र सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँले भनाई थियो । जनताले पार्टीको रैतीको भूमिका मात्र निर्वाह गरेका कारण हत्यारा, बलत्कारी र जघन्य अपराधमा मुछिएका व्यक्तिहरु राज्यको उच्च ओहदामा पुगेको तितो यथार्थलाई सबैले मनन गर्नुपर्ने उहाँको धारणा थियो ।

द्वन्द्वकालका जनधनको क्षतीको यथार्थ बुझ्न गठित सत्य निरुपण आयोग पनि राजनीतिक दलहरुको भागवण्डामा बन्नु दुर्भाग्यपूर्ण भएको भन्दै अध्यक्ष थापाले यस्तो आयोगबाट आउने परिणाम निष्पक्ष हुने र वास्तविक पिडितले न्याय पाउनेमा शंका व्यक्त गर्नु भएको थियो । कार्यक्रममा राप्रपाका महामन्त्री भास्कर भद्राले राष्ट्रियता र प्रजातन्त्रप्रति प्रतिबद्ध भई कार्य गर्दागर्दै सहदत प्रप्त गर्नुहुने राप्रपा समर्थित करिब एकसय जना सहिदहरुको नामावली प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सहिदको परिवारको प्रतिनिधित्व गर्दै पर्सा विरगञ्जका तत्कालीन नगर प्रमुख स्व. गोपाल गिरीका सुपुत्र पत्रकार गिरीस गिरी र सिन्धुपाल्चोकका सहिद स्व. शारदा प्रसाद ढुंगेलकी श्रीमती सुन्तली ढुंगेलले आ–आफ्नो धारणा राख्दै देश र जनताको लागि काम गने क्रममा आफ्ना परिवारका सदस्यहरुले अनाहकमा ज्यान गुमाउनुपरेको पिडा व्यक्त गर्नुभयो । उहाँहरुले हत्यामा संलग्नहरुलाई कानुनी कठघरामा उभ्याउनुको सट्टा चाहीँ राज्य सञ्चालनका उच्च ओहदामा पुर्‍याइनु सहिदहरुको अपमान भएकोे बताउनुभएको थियो ।

सो कार्यक्रममा पार्टी अध्यक्ष थापाले द्वन्द्वकालमा पार्टीको विभिन्न ओहदामा रहेर देश र जनताको काम गर्दागर्दै साहदात प्राप्त गर्नुभएका सहिदका परिवारलाई खादा लगाएर सम्मान गर्नुभएको थियो ।