चेक किर्ते गरी बैँकबाट २० लाख निकाल्ने एक पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

चेक किर्ते गरी बैँकबाट २० लाख रुपैयाँ निकालेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताहाचाल सामुदायिक आवास व्यवस्थापन समाजका कार्यलयका सचिव सन्तोष घिमिरे रहेका छन् । घिमिरेले हस्ताक्षर भइसकेको चेकमा अंक र अक्षर थप गरेर बैंकबाट २० लाख रुपैयाँ निकालेको आरोप लागेको छ ।

भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाडौंको दक्षिणकाली नगरपालिका ६ बस्ने ५६ वर्षीय घिमिरेले सिदार्थ बैंक कुलेश्वर शाखाबाट पुस ९ गते जारी भएको चेक नं। ००२१४२२५५३१८०१ मा ६७ हजार ९ सय १६ रुपैयाँलाई अंक र अक्षर दुवैमा किर्ते गरी २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाई रकम निकालेका थिए ।

रकम निकालेसँगै फरार भएका उनीविरुद्ध आवास व्यवस्थापन समाजले कालीमाटी प्रहरी वृत्तमा उजुरी दिएको थियो । उक्त उजुरीको आधारमा कालीमाटीबाट खटेको प्रहरी टोलीले उनलाई बुधबार बल्खुबाट पक्राउ गरेको थियो । पक्राउ परेका घिमिरेको कोठामा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा १८ लाख रुपैयाँ समेत प्रहरीले बरामद गरेको थियो ।

घिमिरेकथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।