सहिद सप्ताह सकियो


न्युज अफ नेपाल, काठमाडौं ।

सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्मारकमा पुगेर प्रधानमन्त्री केपि. शर्मा ओलीले ज्ञात अज्ञात सहिदहरुको सम्झना गर्नुभएको थियो ।

प्रजातन्त्रका लागि ज्यान बलिदान गर्ने चार र अन्य ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ । वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्वमा सहिद सप्ताह मनाउदै आएको थियो ।

मुल कार्यक्रममा यस बर्ष स्मृति मन्तव्य राखिएन । प्रधानमन्त्री सहित उच्च अधिकारी आएर स्मृति सभा मात्र गरियो । गएको बर्ष भने प्रधानमन्त्री ओली र सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यले स्मृति मन्तव्य राख्नुभएकोे थियो ।

यस बर्ष स्मृति सभामा उप प्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योेगेश भट्टराई, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, महानगरका प्रमुख तथा सहिद सप्ताह मूल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्य, सहरी बिकास राज्यमन्त्री रामबीर मानन्धर, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै संघीय तथा प्रदेश सभा सदस्यहरु सरकारका सचिव, प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षकसहित सुरक्षा निकायका प्रमुखहरु, महानगरका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, वडा सदस्यसहित कर्मचारी र जनसाधारणले सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । सभा हुनु अघि शान्तिबाटिकामा भेला भइ बाजागाजासहित लैनचौरसम्म प्रभातफेरी गरिएको थियो ।

नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको सपना स्मरण गर्दै हरेक वर्ष माघ १६ सहिद दिवस मनाउने गरिन्छ । राणा शाशनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ साल माघ १० गतेदेखि १५ गतेवीच ४ जना सहिदलाई प्राण दण्ड दिइएको थियो ।

हुकुमी शासनको विरोध गरेको र नागरिकलाई स्वतन्त्रताको पक्षमा उक्साएको आरोपमा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले विसं १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिएका थिए ।

सहिद सप्ताहको अवसर पारेर यस बर्ष धर्मभक्त माथेमा, गंगाला श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिक प्रतिस्थापन गरिएको छ । उहाँहरुलाई मृत्युदण्ड दिइएको ठाउँमा शालिक राखिएको हो । धर्मभक्त माथेमाको शालिक अमरत्व पाएको ठाउँसँगै ओमबहालस्थित वडा कार्यालयसँगै माथेमाकै नाममा पार्क निर्माण शुरु गरिएको छ । कामपाल यो वर्षबाट १९९७ सालमा प्राणदण्ड पाएका ४ जनै सहिदको पूर्ण कदको शालिक निर्माण सम्पन्न गरेको छ । यी शालिकहरु कलाकार महेश तुलाधरले निर्माण गर्नुभएको हो ।