सयौं चित्रमा वाङ्मय शताब्दी पुरुष जोशी

0
Shares

नेपाल समाचारपत्र, ललितपुर।

संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका सयौं चित्रहरू कोरिएका छन्। जोशीको सम्मानमा बुधबार आयोजित वाङ्मय शताब्दी पुरुष राष्ट्रिय चित्रकला प्रतियोगितामा सयौं चित्रकारले प्रत्यक्ष चित्र कोरेका हुन्।

योङ पिकासोको प्रस्तुति तथा सहयात्रा र श्री शान्ति विद्याश्रमको आयोजना आयोजित पुरुष राष्ट्रिय चित्रकला प्रतियोगितामा तीन सयभन्दा बढी चित्रकारले सहभागिता जनाएका थिए।

१३ वर्षसम्मको उमेर समूहमा १ सय ८० जना, खुला समूहमा १ सय १० जना र २० जना अतिथि चित्रकारले शताब्दी पुरुष जोशीको चित्रहरू कोरेका थिए।प्रतियोगितामा उमेर समूहतर्फ सुसन जाति पहिलो, सर्वेद महर्जन दोस्रो र समृद्ध राणा तेस्रो भएका छन्।

उनीहरूलाई क्रमशः नगद १२ हजार, ८ हजार र ५ हजार पुरस्कार प्रदान गरिएको थियो।
खुला समूहतर्फ रोशन डंगोल पहिलो, सुसन महर्जन दोस्रो र सुबोध सिवाह सिम्बा तेस्रो भएका छन्। उनीहरूलाई क्रमशः नगद राशी २० हजार, १५ हजार र १० हजारबाट पुरस्कृत गरिएको थियो।

समारोहमा वाङ्मय शताब्दी पुरुष राष्ट्रिय चित्रकला सम्मान २०२० बाट वरिष्ठ चित्रकार गोविन्दनारायण ज्यापूलाई सम्मान गरिएको थियो। ज्यापूलाई १० हजार १ सय नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले सय वर्ष उमेरका धेरै भए पनि देशलाई योगदान गर्ने संस्कृतिविद् जोशीका विषयमा हप्तौं चर्चा गर्न सकिने बताउनुभयो।

शताब्दी पुरुषको कोरिएका चित्रले उहाँलाई सदा जीवन्त बनाउन भूमिका खेल्ने बताउनुभयो। समारोहका अध्यक्ष अजरमान जोशीले सत्यमोहन जोशीको योगदान चर्चा गर्नुभएको थियो।

कार्यक्रममा आयोजकका तर्फबाट नवनिर्वाचित सभामुखलाई विशेष सम्मान गरिएको थियो। उमेर समूहका चित्रमध्ये उत्कृष्ट ३० चित्रलाई माघ २४ देखि २७ गतेसम्म प्रदर्शनीमा राखिने कार्यक्रम निर्देशक अजय देशारले बताउनुभयो। उ

क्त प्रदर्शनीमा ८० देशका बालचित्रकारका चित्रहरू पाटन संग्रहालयमा प्रदर्शित गरिने कार्यक्रम संयोजक बालमुकुन्द आचार्यले जानकारी दिनुभयो।कार्यक्रम ललितपुरको पाटन संग्रहालयको भण्डारखाल बगैंचामा सञ्चालन भएको थियो।

समारोहमा प्रतिनिधि सभाका सांसदहरू कृष्णलाल महर्जन तथा नवराज सिलवाल, बाग्मती प्रदेशका सांसदहरू शोभा शाक्य तथा राजकाजी महर्जन, महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, ललितपुरका प्रजिअ भागिरथ पाण्डेलगायत वरिष्ठ चित्रकार र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।