कांग्रेस उपसभामुखको लोभमा फस्नु हुन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपसभामुख पाउने लोभमा फस्नुनहुने धारणा सो पार्टीका प्रभावशाली नेता तथा कार्यकर्ताले राखेका छन्।
केन्द्रीय सदस्य तथा बौद्धिक नेता नरहरि आचार्यको निवासमा मासिकरूपमा हुने छलफल कार्यक्रममा सहभागीहरूले त्यस्तो धारणा राखेका हुन्।

संसद्मा रहेका साथै आउने तयारीमा रहेका विधेयकहरू मिडिया काउन्सिल, सूचना प्रविधि, आमसञ्चार, सार्वजनिक सेवा प्रसारणलगायत विधेयकका सम्बन्धमा छलफलमा सहभागीहरूले आ–आफ्नो धारणा राखे।

सूचना प्रविधि विधेयकलगायतका विधेयकप्रति आपत्ति व्यक्त गर्दै नेपाली कांगे्रसले ७७ जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत विरोधपत्र दिएको स्मरण गर्दै विरोधको आवाज यतिमा मात्र सीमित गर्नुनहुने धारणा राखे। ‘संसद्मा नै विरोध गर्नु आधारभूत र सही प्रक्रिया हुन्छ।’ –सहभागीहरूको धारणा थियो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गगन थापाले संसद्मा प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्न नसकेको स्वीकार गर्नैपर्ने बताउनुभयो। ‘२०४६ सालपछि कांग्रेस सत्तासँग जोडिएको छ, तर हामी समाजसँग जोडिन सकेनौं।’ –उहाँले भन्नुभयो।

२०६२ सालपछि राजनीतिक सहमतिका नाममा प्रतिपक्षी राजनीतिको भूमिका नै रहेन भन्ने टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘यसपटक हामीले निर्वाचन हारिसकेपछि यहाँसम्मको यात्रा सकियो अब हाम्रो प्रतिपक्ष भूमिकाको नयाँ राजनीतिक चरण शुरू भयो भनेर जनतामा जान सकेनौं।’

उहाँले भन्नुभयो– ‘यतिखेर कांग्रेसलाई संकट र अवसर दुवै छ। कांग्रेसले अहिलेसम्म ३८ प्रतिशतभन्दा बढी भोट नाघेको छैन। अब कांग्रेसले ठूलो पार्टी हुन ४०÷४५ प्रतिशत भोट पाउनुपर्छ। ५/७ प्रतिशत भोट बढाउन आजसम्म कांग्रेसलाई मतदान नगरेको ३०÷३५ लाख नयाँ मतदाता आउँदै छन्।

ती नागरिकलाई कांग्रेस बनाउने मौका आएको छ। हामीले पनि विधेयक बनाउँदा नजानेर गल्ती भएको होला भन्ने मानेर हामी अघि बढ्नुपर्छ।’‘लोकतन्त्रको मूल्यमा हामी अन्यभन्दा फरक ढंगले उभिन्छौं। लोकतन्त्रको मूल्य यो हो भनेर कांग्रेस पार्टी अघि बढ्ने हो भने यसले अहिले हामीलाई अवसर ल्याएको छ।

कम्युनिस्ट पार्टी सांस्कृतिक अधिकार संकुचन बनाउन गुठी विधेयकमा आयो। हामीले व्यवसाय गर्न पाउने अधिकार, सम्पत्ति राख्न पाउने अधिकारमा पनि कम्युनिस्टभन्दा हामी फरक छौं भनेर भन्न पाइने र पर्ने अवस्थामा हामी छांैं। यो हामीलाई अवसर हो। यतिखेर कांग्रेसलाई चिनाउने बेला आएको छ।’ –थापाले बताउनुभयो।

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य रामबहादुर विष्ट, पत्रकार महासंघका महासचिव रमेश विष्ट, काठमाडौं जिल्ला सदस्य रामचन्द्र घिमिरलगायतले सम्बोधन गरेको छलफल कार्यक्रममा अधिकांशले विधेयकमाथि आफ्नो धारणा केन्द्रित गरेका थिए।