नेपाल प्रहरी र स्काउटबीच समझदारीपत्रमा हस्ताक्षर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल प्रहरी र नेपाल स्काउटबीच समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरूप संस्थागत साझेदारी निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा बुधबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल स्काउट तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो।

समाजमा अपराध रोकथाम, सामुदायिक सचेतना अभिवृद्धि र समग्र सामुदायिक सुरक्षाको प्रणालीगत सुधार गरी शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि नेपाल प्रहरीले अवलम्बन गरेको ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा तथा बालबालिका एवं युवा वर्गलाई विश्व स्काउटको सिद्धान्तका बारेमा जानकारी गराउन उक्त समझदारी भएको हो।

अनुशासित, स्वावलम्बी र चरित्रवान् तुल्याई सेवा भावना अभिवृद्धि गर्दै देश विकासको कार्यमा सहभागी गराउने नेपाल स्काउटको लक्ष्य प्राप्तिका लागि संस्थागत साझेदारी निर्माण गरी साझा उद्देश्य र कार्यक्रमहरू एकीकृतरूपमा कार्यान्वयन गर्ने उद्देश्यले दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।

कार्यक्रमको कार्यान्वयन, स्रोत व्यक्तिको आदानप्रदान, एकीकृत स्वयंसेवक परिचालन, प्रहरीसँग एक दिन, सुरक्षा सचेतना अभिवृद्धि, क्षमता अभिवृद्धि, सूचना आदान प्रदान, भ्रमण आदान प्रदान र साझेदारी कार्यान्वयनका लागि सम्पर्क विन्दुलगायतका विषय समझदारीपत्रमा समेटिएका छन्।

समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय संकल्पको रुपमा रहेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई साकार पार्न दुवै संगठनको सहकार्यको क्रियाशिलता आवश्य रहेको चर्चा गर्दै यस समझदारीलाई कार्यान्वयन गर्न दुवै पक्ष अग्रसर हुनुपर्ने बताउनुभयो।

ट्राफिक र विपद् व्यवस्थापन, अपराध नियन्त्रणलगायत सामाजिक विकृतिका विषयहरू नियन्त्रण गर्न नेपाल स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले अत्यन्त सक्रियरूपमा रहेको युवा जमातलाई साझेदारीमार्फत सचेत गराउनुपर्ने बताउनुभयो।

विविध ज्ञानलाई आदान प्रदान गर्दै महिला हिंसा, बालबालिका विरुद्ध हुने अपराधलगायत सामाजिक विकृतिका विरुद्धमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरी अगाडि बढ्नुपर्ने प्रहरी महानिरीक्षक खनालले बताउनुभयो।

सो अवसरमा स्काउटका संयोजक भण्डारीले नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारीलाई अभियानका रूपमा गाउँगाउँ र जनस्तरसम्म पुर्याइएकाले यसले नेपाल प्रहरीको छविलाई थप उच्च बनाइरहेको चर्चा गर्दै यस्तो कार्यक्रम प्रहरीको मात्र नभई सबैको साझा हितमूलक अवधारणा भएको बताउनुभयो।

अपराधी बन्न सक्ने युवा वर्गलाई दुवै संगठनको साझा संकल्पबाट अपराधसम्म पुग्नै नदिई सत्कर्ममा पुर्याउनुपर्ने चर्चा गर्दै उहाँले विगतमा पनि नेपाल स्काउटले नेपाल प्रहरीसँगको सहकार्यमा विपद् व्यवस्थापन, भिड व्यवस्थापन, सचेतनामूलक कार्यक्रम र स्वयंसेवी कार्यक्रमको अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।