गंगालाल अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने

0
Shares

काठमाडौं, (नेस)।

मुटुको समस्या भएर गंगालाल ह्दय केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन काठमाडौं महानगरले प्लान्ट स्थापना गर्ने भएको छ।
यसका लागि शहीद गंगालाल श्रेष्ठका नामबाट सञ्चालित केन्द्र र महानगरबीच बुधबार सहमतिपत्रमा हस्ताक्षर भएको छ।

केन्द्रको २४औं स्थापना दिवस तथा शहीद सप्ताहको अवसरमा महानगरका मेयर विद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेशसभा सदस्य दीपक निरौलाको रोहबरमा सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो।

सम्झौताबमोजिम ह्दय केन्द्रले प्लान्ट र यससम्बन्धी उपकरण खुला प्रतिस्पर्धाबाट खरिद गरिने भएको छ। यसरी गरिएको बोलपत्रबाट छनोट भएको प्रस्तावकले कबोल गरेको रकम बराबरको पैसा महानगरले केन्द्रको बैंक खातामा पठाइदिने भएको छ।

प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत् प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मतसम्भार गर्ने जिम्मेवारी केन्द्रको हुने भएको छ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले महानगरपालिकाले विशेषज्ञ सेवा प्रदायक स्वास्थ्य संस्थाको सहयोगमा नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउन गरेको कामको सराहना गर्नुभयो।

‘कामपाको दक्षताले सकेको आफै र नसकेको ठाउँमा सक्नेको सहयोगमा काम गरेपछि यो दिगो हुन्छ, यसले निरन्तरता पाओस् भन्ने म चाहन्छु।’ –उपप्रधानमन्त्री पोखरेलको भनाइ थियो।

त्यसक्रममा बोल्दै कामपाका मेयर शाक्यले रोगको उपचारका लागि मात्र नभई रोग लाग्नै नदिनका लागि पनि कार्यक्रम अघि बढाइएको बताउनुभयो।उहाँले कामपाले नागरिकको दैनिक समस्यासँग जोडिने हरेक ठाउँमा सहयोग गर्ने बताउनुभयो।

कामपाले केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्न ३ करोड रुपियाँ छुट््याएको छ। त्यस अवसरमा ह्दय केन्द्रले बीमित बिरामीको उपचारका लागि राष्ट्रिय बीमा बोर्डसँग सम्झौता गरेको छ। सो अवसरमा बिरामी कुरुवा घरको व्यवस्थापन गर्न मृगेन्द्र चिकित्सा गुठीले १० लाख रुपियाँ उपलब्ध गराएको थियो।