मनाङको अपराजेय यात्रा जारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

डिफेन्डिङ च्याम्पियन मनाङमस्र्याङ्दी क्लब जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नवौं चरणको खेलसम्म पनि अपराजेय यात्रामा रहन सफल भएको छ।
बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले संकटा क्लबलाई ३–० गोल अन्तरले हराएको हो।

योसँगै मनाङले ९ खेलमा ५ मा विजयी र ४ मा बराबरी नतिजा बेहोरेको छ। १४ टोली सम्मिलित जारी लिगमा अपराजेय रहनेमा मनाङ एक्लो टोली पनि हो। यो नतिजापछि १९ अंक जोड्दै मनाङले उपाधि रक्षा गर्ने लक्ष्यलाई जीवितै राखेको छ।

साथै टोली अंकतालिकामा त्रिभुवन आर्मी (२० अंक) र मच्छिन्द्र (१९ अंक) पछि तेस्रो स्थानमा रहेको छ। मच्छिन्द्र र मनाङबीच अंक र गोलभिन्नता समान भए पनि कार्डको आधारमा स्थान निर्धारण गरिएको छ।

यसपटक केही शीर्ष खेलाडी मच्छिन्द्रमा बसाइ सरे पनि मनाङले नवौं चरणसम्म पनि आफ्नो साख जोगाएर राखेको छ। संकटाविरुद्धको खेलमा शुरूदेखि आक्रामक भएको टोलीले आत्मघाती गोलबाट अग्रता लिएको थियो।

खेलको ४२औं मिनेटमा अञ्जन विष्टले लुइस भिडालको क्रसमा गरेको प्रहारलाई बचाउन कोसिस गर्दा अमित तामाङले आफ्नै पोस्टमा गोल गरेका थिए। सो आत्मघाती गोलले अगाडि बढेलगतै मनाङले अग्रता दोब्बर पारेको थियो।

अञ्जनले ४३औं मिनेटमा वान भर्सेस वानमा गोल गरेपछि मनाङ २–० को अग्रतामा रहेको थियो। अञ्जनले संकटाका डिफेन्डर रोमन लिम्बुको गल्तीमा गोलकिपर विनय श्रेष्ठलाई बिट गर्दै गोल गरे। उनको यो जारी लिगमा व्यक्तिगत तेस्रो गोल पनि हो।

दोस्रो हाफमा पनि मनाङले थप गोल गर्यो। ७१औं मिनेटमा निसान लिम्बुले विमल रानाको क्रसमा गोल गरेका थिए। यो गोलसँगै टोलीको जित सुनिश्चित भएको थियो।
संकटाले १२ खेलमा तेस्रो हार आत्मसात गरेको छ।

टोली १२ अंकसहित आठौं स्थानमा रहेको छ। त्यस्तै समान १२ अंक जोडेका एनआरटी र जावलाखेल क्रमशः छैटौं र सातौं स्थानमा छन्। एनआरटीलाई आज हुने ब्वाइजविरुद्धको खेल जितेर चौथो स्थानमा आउने अवसर पनि छ।