कलाकार संघलाई सघाउन द कर्माको च्यारिटी शो

0
Shares

भोलि शुक्रबार अल नेपाल रिलिजमा आउन लागेको फिल्म द कर्माको च्यारिटी शो गरिएको छ। नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ मंगलबार फिल्मको च्यारिटी शो गरिएको हो।

शोबाट संकलित सम्पूर्ण रकम कलाकार संघलाई प्रदान गरिएको फिल्मका निर्माता जयराज रायले जानकारी गराए।संघका अध्यक्ष रवीन्द्र खड्काले च्यारिटीका लागि हलमा रिलिज नहुँदै फिल्म प्रदर्शन गरेर सहयोग गरेकोमा कलाकार संघ सदैव आभारी रहने बताए।

शोमा फिल्म युनिट पनि सहभागी भएको थियो। फिल्म हेरिसकेपछि नायिका परमिता आरएल राणा तथा अभिनेता बुद्धि तामाङले प्रतिक्रिया लिएका थिए। अभिनेता तामाङले राम्रो प्रतिक्रियाले खुसी लागेको बताए।

‘फिल्म हेर्नेहरूले मेरो र फिल्मको तारिफ गरिदिँदा म मख्ख नपरेर को पर्छ त छिमेकी?’ –तामाङले ठट्टा गरे।फिल्मका निर्देशक देवकुमार श्रेष्ठले कलाकार संघलाई फिल्ममार्फत सहयोग गर्न पाउनु गर्वको विषय भएको बताए।

निर्माता तथा कलाकार जयराजले कलाकार संघले आर्थिक सहयोग जुटाउन खोजिरहेको थाहा पाएपछि आफूले फिल्म च्यारिटीका लागि दिने निधो गरेको बताए।

जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्म्स् एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको द कर्माको कथा निर्माता जयराज राय आफंैले लेखेका छन्। रायसँगै श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको फिल्ममा शारदा खड्का अर्याल सहनिर्माता छन्।

फिल्ममा परमिता, बुद्धि र जयसँगै करण वर्मा, नीता ढुंगाना, संगीता नापित, अनुप सक्सेनालगायतका कलाकारले अभिनय गरेका छन्। सुशील पोखरेलको पटकथा तथा संवाद रहको फिल्म रामेश्वर कार्कीले छायांकन गरेका छन्।