सेन्टी भाइरससँगै पर्दामा फर्किए धुर्मुस–सुन्तली

0
Shares

धुर्मुस–सुन्तली लामो समयपछि पर्दामा फर्केका छन्। सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आफ्नै होम प्रोडक्सन सुबिहानी फिल्म्स् प्रालिको ब्यानरमा निर्मित पहिलो फिल्म सेन्टी भाइरससँगै लामो समयपछि सिनेमाको पर्दामा फर्केका हुन्।

रामबाबु गुरुङको निर्देशनमा बनेको सेंन्टी भाइरसको ट्रेलर बुधबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। आगामी फागुन ९ गते महाशिवरात्रिको दिनबाट अल नेपाल रिलिज हुने फिल्मको ट्रेलरमा गाउँले परिवेशमा रहेको राजनीतिक विषय उठान गरिएको छ। हाँसो मिसिएको ट्रेलरमा राजनीतिले परिवारदेखि समाजमा पर्ने प्रभावलाई प्रस्तुत गरेको छ।

कार्यक्रममा बोल्दै सीताराम कट्टेल ‘धुर्मुस’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काममा व्यस्त भएकाले आफूले समय दिन नसके पनि फिल्मलाई न्याय दिने गरी काम गरेको तथा देश र समाजलाई नै गर्व हुने काम रंगशाला निर्माण गर्ने अभियानको जिम्मेवारी सँगसँगै फिल्मका लागि पनि समय निकालेर मेहनत गरेको बताए।

‘फिल्मका लागि सुहाउँदो क्यारेक्टर बन्न जिम क्लब पनि गएँ। यो फिल्मबाट दर्शकले पूर्णरूपमा मनोरञ्जन पाउनुहुनेछ। दर्शकको टिकट खेर जाँदैन’, भावुक हुँदै सीतारामले भने– ‘मैले ६ वर्षदेखि घर–परिवार र स्वार्थबाट टाढा रही पूर्ण मनले नेपाल र नेपालीको गर्वका लागि काम गर्दै आएको छु।

अहिले नेपाली कला क्षेत्रको प्रतिनिधित्व गर्दै देशकै शानका रूपमा श्रीमती, छोरी र परिवारसँग टाढा रहेरै भए पनि अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने जुटेको छु। कलाकारितासमेत छोडेर राष्ट्र निर्माणमा लागिपरे पनि समयमै पूर्णरूपमा काम गरेर सबैलाई गर्व महसुस गराउनेछु।’

सीतारामले यसो भनिरहँदा कुञ्जनाको आँखाबाट आँसु झरिरहेका थिए भने अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि आँशु झारेर आँखा राता–राता बनाएकी थिइन्। उनले फिल्मबाट हुने मुनाफाको ५० प्रतिशत रकम रगंशाला निर्माणमा जाने घोषणासमेत गरे।

फिल्मकी अभिनेत्री कुञ्जना घिमिरेले आफूले २८ वर्षदेखिको नायिका बनेर काम गर्ने धोको यस फिल्मबाट पूरा भएको भन्दै देश विकास र कलाकारितालाई एकसाथ लैजाने कोशिसस्वरूप यो फिल्म निर्माण गरेको बताइन्।

‘यो मेरो पहिलोे कोशिस हो र सम्पूर्ण टिमको एफोर्टले सेन्टी भाइरस बनेको हो। शुरूमा कलाकारिता आफ्नै लागि गरे तापनि अहिले दर्शकका लागि गरिरहेको छु।’ –उनले भनिन्। निर्देशक तथा हास्य कलाकार दीपाश्री निरौलाले धुर्मुसलाई जहिले पनि आफूले जानेको कुरा गर्नुपर्छ भनेर झकझकाएको बताइन्। ‘हरिवंश आचार्य दाइपछिको कलाकार भनेको धुर्मुस हो।’ –उनले भनिन्।

फिल्मका अभिनेता दयाहाङ राईले धुर्मुस–सुन्तलीको एक अभियानमा जोडिन पाउँदा निकै खुसी लागेको बताए। ‘समाजलाई हेर्ने दृष्टिकोण राजनीति नै हो। राजनीति भनेको समाजको मेरुदण्ड हो। त्यो मेरुदण्डभित्र केही भाइरस हुन्छन्, जसले सेन्टी बनाउन सक्ने कुरा फिल्ममा छ।’

–दयाहाङको भनाइ थियो। फिल्ममा अर्का कलाकार बुद्धि तामाङले आफ्नो करियरमा धुर्मुसको ठूलो भूमिका रहेको बताए। अभिनेता रमेश उप्रतीले धुर्मुस फिल्मको मात्र नभई वास्तविक नायक रहेको चर्चा गरे। ‘यो फिल्म मनोरञ्जनका लागि मात्र होइन, सामाजिक अभियन्ताका लागि काम गरिरहेको व्यक्तिका लागि पनि हेर्नुपर्छ।

फिल्म हेर्दा क्रिकेट रंगशाला निर्माणलाई पनि सहयोग पुग्छ। त्यसैले यो फिल्मलाई सुपर डुपरभन्दा पनि उपर बनाउनुपर्छ।’ –उनले भने।
फिल्ममा दयाहाङ राई, सीताराम कट्टेल, कुञ्जन घिमिरे, विल्सनविक्रम राई र बुद्धि तामाङका साथमा राजाराम पौडेल, वसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षत्री, पवन खतिवडा, एलिश राईलगायतको अभिनय रहेको छ।

कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको फिल्म डिन्डु लामा ह्याल्मोले निर्माण गरेका हुन्। फिल्ममा राजनराज शिवाकोटी, शंकर थापा, कालीप्रसाद बास्कोटालगायतको संगीत रहेको छ भने शैलेन्द्रध्वज कार्कीको छायांकन र निमेश श्रेष्ठको सम्पादन रहेको छ।