मध्यपुर थिमी नगरलाई १ करोड अनुदान

0
Shares

काठमाडौं, (नेस)। 

काठमाडौं महानगरपालिकाले मध्यपुर थिमी नगरलाई अन्तरनगर साझेदारी कार्यक्रमअन्तर्गत १ करोड रुपियाँ अनुदान रकम प्रदान गरेको छ। नगरको वडा ४ मा पर्ने शंखधर पार्क निर्माणका लागि उपलब्ध गराएको उक्त अनुदान रकम बुधबार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले थिमीका नगर प्रमुख मदनसुन्दर (जगुलु) श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो।

नगर प्रवेशद्वारनजिक आयोजना गरिएको सम्झौता तथा रकम हस्तान्तरणपछि मेयर शाक्यले पार्क निर्माणको शिलान्यास गर्नुभएको थियो। कार्यक्रममा मेयर शाक्यले कामपासँग साझेदारी काठमाडौं जिल्लाबाहिरका नगरसँगको पहिलो भएको उल्लेख गर्नुभयो।

‘काठमाडौं जिल्लाका सबै नगरलाई सार्वजनिक जग्गा संरक्षण गर्न, हरियाली बढाउन तथा पार्क निर्माण गर्न १–१ करोड रुपियाँ अनुदान दिएका छौं। हामी महानगरको व्यवस्थापनसँगै आसपास अन्य नगरसँगको साझेदारीबाट विकासमा साझेदारी गरिरहेका छौं।’ –उहाँले भन्नुभयो।

कार्यक्रममा मध्यपुर थिमीका प्रमुख मदनसुन्दर श्रेष्ठले महानगरबाट उपलब्ध भएको अनुदान रकमबाट निर्माण हुने पार्कबाट नगरवासीलाई लाभ पुग्ने बताउनुभयो। नगरको समृद्धिका लागि आन्तरिक र बाह्य दुवै प्रकारका स्रोत परिचालन गरेको मेयर श्रेष्ठको भनाइ थियो।

थिमी नगरपालिका–४ का अध्यक्ष कुमार श्रेष्ठले महानगरको सहयोगमा आफ्नो वडामा ठूलो योजना सञ्चालन हुने भएकोमा खुसी लागेको बताउनुभयो। पार्क निर्माणका लागि १७ करोड रूपियाँको गुरुयोजना तयार पारिएको छ। शुरूमा १७ रोपनी क्षेत्रफलबाट काम थालनी गरिनेछ। त्यसपछि क्रमशः जोडिएको ५३ रोपनी जग्गामा पार्क बिस्तार गर्ने नगरको योजना छ।