भ्रष्टाचारका उजुरी बढे

0
Shares

बैतडी, (नेस)।

पछिल्लो समय बैतडीमा भ्रष्टाचारम्बन्धी उजुरी बढेको पाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार भ्रष्टाचारका उजुरी बढेका हुन्।

कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशका सबै ९ जिल्लाहरूमध्ये बैतडी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका उजुरी पर्नेमा तेस्रोमा रहेको छ।स्थानीय तहका भ्रष्टाचार सम्बन्धी धेरै उजुरी पर्ने जिल्लामा कैलाली र कञ्चनपुरपछि बैतडी रहेको कार्याललयका प्रमुख बाबुराम खतिवडाले जानकारी दिनुभयो।

जिल्लामा गत वर्षभन्दा चालू वर्षमा उजुरी बढेको पाइएको छ। स्थानीय तहमा भएका आर्थिक अनियमितता, दुरूपयोगलगायत उजुरीको चाप बढ्दै गएको हो।

चालू आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म ४० उजुरी दर्ता भएका छन्। गत आर्थिक वर्ष २०७५/७६ को सो अवधिमा २९ उजुरी मात्रै दर्ता भएका थिए। चालू वर्षमा परेका उजुरीमध्ये हालसम्म १६ उजुरी फर्छ्यौट भएका प्र्रमुख खतिवडाले बताउनुभयो। यस्तै गतवर्ष ९६ ओटा उजुरी परेकोमा ३० उजुरी फछ्र्योट भएका थिए।

स्थानीय तहबाहेक जिल्लाका अन्य सरकारी कार्यालयले गरेका भ्रष्टाचारका उजुरी पर्ने क्रम बढ्दो छ। स्थानीय तहले सञ्चालन गरेका विकास–निर्माणसम्बन्धी आयोजनामा भएको हिनामिनाको उजुरी सबैभन्दा बढी पर्ने गरेको कार्यालयले जनाएको छ। अख्तियारले पछिल्लो समय सक्रियता देखाएसँगै उजुरी बढेको कार्यालयको दाबी छ। साथै कार्यालयकोे सक्रियताले रंगेहात पक्राउसमेत पर्ने गरेका छन्।