गजल महोत्सव शुरू

0
Shares

काठमाडौं, (नेस)।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रिय युवा परिषद्को सहकार्यमा राष्ट्रिय गजल महोत्सव २०७६ शुरू भएको छ। बुधबार प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा भव्य कार्यक्रम गरी गजल महोत्सवकै रूपमा पहिलोपटक शुरू गरिएको हो।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य एवम् वरिष्ठ गजलकार बूँद राना, प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ कवि वैरागी काइँला, राष्ट्रिय युवा परिषद्का माधव ढुंगेलले शुभकामना व्यक्त गर्नुभएको थियो।

त्यसै गरी प्रज्ञा–प्रतिष्ठानका साहित्य (पद्य/काव्य) विभाग प्रमुख एवम् राष्ट्रिय गजल महोत्सव तयारी समितिका संयोजक प्राडा हेमनाथ पौडेलले गजल महोत्सवको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो।

गजल वाचन सत्रमा सातवटै प्रदेशबाट सहभागीहरुले आ–आफ्नो गजल वाचन गरेका थिए। प्रत्येक प्रदेशबाट ४० वर्षभन्दा मुनिका पाँच÷पाँच गजलकारलाई समावेश गरिएको कार्यक्रममा काठमाडौं उपत्यकाबाट छनोट भएका २८ गजलकारले पनि गजल वाचन गरेका थिए।

सहभागी वक्ताहरुले प्रत्येक वर्ष निरन्तर रूपमा गजल महोत्सव गर्न आग्रह गरेका थिए। नेपाली गजललाई अब निरन्तरता दिने प्रयासस्वरूप कार्यक्रम गरिएको कुलपति उप्रेतीले बताउनुभयो।

त्यसै गरी उद्घाटन सत्रमा धन्यवाद ज्ञापन गर्दै प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव जगत्प्रसाद उपाध्यायले सातवटै प्रदेशबाट प्रतिनिधित्व गराएर पहिलोपटक गजल महोत्सव आयोजना गरिएको बताउनुभयो।

कार्यक्रमको तरन्नुम सत्र प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (बालसाहित्य तथा लोकवार्ता) विभाग प्रमुख डा. देवी नेपालको अध्यक्षतामा भएको थियो। तरन्नुम सत्रमा बूँद राना, सनतकुमार वस्ती, धीरेन्द्र प्रेमर्षिलगायत १५ गजलकारले गजल वाचन गरेका थिए।