बैसाख पहिलो साता कालञ्जरमा महायज्ञ हुने


न्युज अफ नेपाल, पर्वत ।

विभिन्न पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको पर्वतको पवित्र कालञ्जर पर्वतमा बैसाखको पहिलो साता महायज्ञ आयोजना गरिने भएको छ । पबित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै बैषाख १ देखि ७ गते सम्म १०८ श्रीमदभागवत तथा विराट ज्ञान महायज्ञ आयोजना गरिने भएको हो । कालञ्जर पर्वतको जलजला, मोदी र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सिमानामा पर्छ ।

विराट ज्ञान महायज्ञका लागि जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । हिन्दु धर्मग्रन्थहरुमा पवित्र तपोभूमिका रुपमा व्याख्या गरिएको कालञ्जर पर्वतको महिमा वर्णन मात्रै गरिएको छैन, त्यहाँ पुगेर तपस्या गरेर धेरै ऋषिमुनिले सिद्ध प्राप्त गरेको उल्लेख छ । पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गंगासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठ जस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रुपमा उल्लेख गरिएको पाइन्छ।

हिमालय पर्वतका राजा र उनकी पुत्री पार्वतीसँग जोडिएको यो क्षेत्र पवित्र भूमिका रुपमा र तपस्यास्थलका रुपमा रहेको थियो । राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणहरुमा उल्लेख गरेको पाइन्छ । एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरे त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ ।

अग्निपुराण, विष्णुपुराण र श्रीमद्भागवत् महापुराणले राजर्षि जडभरतको तपस्थली र उनका तीन जन्मसँग जोडेर कृष्णगण्डकीको सान्निध्यमा रहेको पवित्र भूमिका रुपमा कालञ्जरको व्याख्या गरेका छन् । कालञ्जर क्षेत्रको अध्ययन अनुसन्धान गरिरहनुभएका डा जगन्नाथ रेग्मीका अनुसार महर्षि जडभरतले कालञ्जरसँगै जोडिएको म्याग्दीको पौलस्य आश्रम र गलेश्वर धाममा तपस्या गरेको र कालो मृगका रुपमा कालञ्जरमा घुमेको कुरा धर्मग्रन्थहरुमा पाइन्छ ।

कालञ्जरमा कालो वर्णको मृग पाइने भएकाले पनि यसको व्याख्यालाई मान्न सकिन्छ। बराहपुराणमा भगवान् शिवको निवासस्थलका रुपमा यसलाई व्याख्या गरेको पाइन्छ भने त्यहाँ रहेका भगवान् शिवको दर्शन गरे मात्रै कृष्णगंगा स्नानको फल मिल्छ भन्ने उल्लेख छ। स्कन्दपुराणको काशीखण्डअन्तर्गत पृथ्वीतलका मुक्तिप्रदायक मुख्य तीर्थस्थलमा कालञ्जर क्षेत्रको महिमा उल्लेख गरिएको छ ।

कालञ्जरमा मृग सरोवरलाई पुर्नस्थापित गर्नका लागि गण्डकी प्रदेशको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले डिपीआर र पर्यटकीय पुर्वाधार बनाउनका लागि १ करोड रुपैया बिनियोजन गरेको छ । कालञ्जर, हम्पाल र भुमरकोट क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहित पर्वतका जनप्रतिनिधी र गैह्र आवासिय नेपालीहरुले पनि पहल गर्दै आउनुभएको छ । महायज्ञले कालञ्जर क्षेत्रलाई पहिचान दिलाउन सफल हुने बिश्वास अध्यक्ष मल्लको छ ।